१८ बैशाख २०८१, मंगलवार
शैक्षिक सुधारका लागी परीक्षा प्रणाली सुधार गर्दै कोहलपुर नगरपालिका 


कोहलपुर नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी परीक्षा प्रणालीलाई मर्यादित गराउने अभियान सुरुवात गरेको छ । परीक्षालाई मर्यादित बनाउने  र विद्यार्थीलाई पढ्नु पर्छ भन्ने सोच विकास गर्न  एस ई ई परीक्षालाई थप मर्यादित बनाउने प्रयास थालिएको कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद  आचार्यले बताए । उनले कोहलपुर नगर भित्र सञ्चालित परीक्षा केन्द्रहरूलाई मर्यादित बनाउनका लागी शिक्षक र विद्यार्थीलाई सि.सि क्यामरा बाट मनिटरिङ गरिएको जानकारी दिए । विद्यालयमा भिड गरेर अनुगमन गर्नुको साटो  सिसि क्यामराको सहायताले निगरानी गरिएको उनले बताए ।

अनुगमनका नाममा विद्यालयमा भिड लाग्ने र विद्यार्थीलाई केही असहजता हुन सक्ने आँकलन गरि शान्त वातावरणमा परीक्षा दिलाउने व्यवस्था मिलाइएको मेयर आचार्य बताए । सिसि क्यामरा मनिटरिङ गर्न कोहलपुर नगर पालिकामा मास्टर कन्ट्रोल रुम बनाइएको जानकारी दिए । उनले सोही कन्ट्रोल रुम मार्फत नगर शिक्षाका पदाधिकारीहरू सहित आफूले परीक्षा केन्द्रको निगरानी गर्ने गरेको जानकारी समेत दिए ।मेयर आचार्यले परीक्षा प्रणालीमा सुधारका साथै विद्यालयको भौतिक विकास र शैक्षिक जनशक्ति लागयतका विषयमा आफूहरूले विशेष ध्यान दिदै आएको बताए ।
कोहलपुर नगरपालिका भित्र सामुदायिक र संस्थागत गरि १० परीक्षा केन्द्र रहेका छन । कोहलपुर र केही बैजनाथ र केही राप्ती सोनारीका समेत गरि २ हजार ६ सय ५८ विद्यार्थी परीक्षामा सहभागी भएको कोहलपुर नगर शिक्षा शाखाका विद्यालय निरीक्षक रविलाल मिजारले जानकारी दिए । मिजारले हरेक परीक्षा केन्द्रमा २ जनाका दरले शिक्षण सिकाइ सहजकर्ताका रुपमा विद्यालय निरीक्षक समेत खटाइएको उनले बताए ।
कोहलपुर क्षेत्रमा बर्सेनी परीक्षा अमर्यादित भएको गुनासो अभिभावकहरू बाटै आउने गरेकाले यस पटक गुणात्मक सुधार गरिएको कोहलपुर शिक्षक महासङ्घका अध्यक्ष राम प्रसाद चापागाँईले जानकारी दिए । कोहलपुरका १० परीक्षा केन्द्र मध्ये ६ वटा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र रहेका छन भने ४ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र रहेका छन ।


सामुदायिक तर्फ कृष्ण मावि कौशिल्या नगर , लक्ष्मी मावि बर्दहवा , त्रिभुवन मावि , राम मावि  , जन ज्ञान ज्योति मावि चपरगौढी र सगरमाथा ज्ञान कुञ्ज माविमा  परीक्षा केन्द्र रहेका छन । भने संस्थागत तर्फ बाल ज्योति स्कुल , बागेश्वरी एकेडेमी , नमुना विद्या सदन र वेस्टन  माविमा परीक्षा केन्द्र रहेका छन । यस वर्ष सामुदायिक तर्फका विद्यालयहरूमा सि सि क्यामरा मार्फत अनुगमन गरिएको र संवन्धीत वडाका वडा अध्यक्षहरू लाई समेत आवश्यकता अनुसार अनुगमन र समन्वय गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । 

यस अघि विद्यालयहरूको सेटिङमै कोहलपुर क्षेत्रमा चिट चोराउने लगायतका गतिबिधीहरु  हुने गरेको गुनासो आउने गरेको थियो । 

Nabintech