१७ बैशाख २०८१, सोमबार
राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

कांग्रेसले आफ्नो बाहेक लोसपाको १ मत मात्र पायो



राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका शर्माले भने १७ मत प्राप्त गरे । अध्यक्ष पदमा निर्वाचित दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाएका छन् । त्यस्तै राष्ट्रपतिबाट मनोनीत बामदेव गौतमले पनि दाहाललाई मत दिएका छन् ।

त्यसैगरी राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन । कांग्रेसले आफ्नो बाहेक लोसपाको १ मत मात्र पाएको छ । निर्वाचनमा ५६ जना सांसद उपस्थित भएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा तटस्थ बसेका थिए । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एउटा सिट भने रिक्त छ ।

Nabintech