१७ बैशाख २०८१, सोमबार
१८ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनी मिडिया सम्मेलन सम्पन्न


प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा सञ्चालन गरिएको दुईदिने मिडिया सम्मेलन आज समापन भएको छ । लुम्बिनी प्रदेशको सञ्चार क्षेत्रको चुनौती र समाधानका पहल सहित सञ्चार क्षेत्रको महत्त्व लाई समेट्दै १८ बुँदे बाँके घोषणापत्र जारी गर्दै शुक्रबार सम्मेलनको समापन गरिएको हो दुई दिन सम्म सञ्चालित सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले वर्गीय पक्षधरतालाई मनन गर्दै जनपक्षीय पत्रकारितामा प्रेस सेन्टर आवद्द पत्रकारहरू लाग्नुपर्ने बताए ।

उनले पत्रकार बिचार बिहिन नभई सही बिचार बाट निर्देशित हुनुपर्ने बताए । उनले राष्ट्रको परिवर्तनका लागी तत्कालीन क्रान्तिकारी पत्रकार संघले खेलेको भूमिका र गरेको योगदान इतिहासले कहिल्यै नबिर्सने बताउँदै जनपक्षीय पत्रकारिताका विषयमा प्रशिक्षण मूलक भनाई राखेका थिए । कार्यक्रममा लेखक तथा विश्लेषक नरेन्द्र जंग पिटरले माओवादी आन्दोलन र शान्तिप्रक्रिया पछिका कमजोरीका बारेमा टिप्पणी गरेका थिए । कार्यक्रममा विशेष गरि लुम्बिनी प्रदेशको जन पत्रकारिताको इतिहास अवस्था र सुधार गर्नुपर्ने पक्षका विषयमा तयार पारिएको अवधारणापत्रका विषयमा छलफल गरिनुका साथै नयाँ प्रविधि र फोटो ग्राफर र फोटोको महत्वका विषयमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीले प्रशिक्षित गरेका थिए ।

कार्यक्रममा पत्रकारहरूले ध्यानदिनुपर्ने महत्त्वपूर्ण विषयहरूका बारेमा सेन्टरका महासचिव सन्तोष पौडेल र प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिङ बि क ले आवद्द पत्रकारहरू लाई दक्षता अभिवृद्धि गर्न विभिन्न खालका तालिमहरू सञ्चालन गरिने बताए । प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश अध्यक्ष मानसिङ बि.क.को अध्यक्षता भएको समापन कार्यक्रममा सम्मेलन लाई सफल बताउन बिभिन्न तवरले सहयोग गर्ने लाई सम्मानका साथ आभार सहित सम्मान व्यक्त गरिएको प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष एवं आर्थिक संयोजक प्रदिप वाग्लेले धन्यवाद ज्ञापन गरेका थिए । सम्मेलनको बिहीवार पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले उद्घाटन गरेका थिए । सम्मलेनमा लुम्बिनी प्रदेशका झण्डै २ सय सञ्चारकर्मीहरूको सहभागिता रहेको आर्थिक समिती संयोजक वाग्लेले जानकारी दिए ।

लुम्बिनी मिडिया सम्मेलन २०८० द्धारा जारी १८ बुँदे घोषणापत्रको पूर्ण पाठ 

जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरूको साझा संगठन प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिले २०८० फागुन २४ र २५ गते बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेशस्तरीय लुम्बिनी मिडिया सम्मेलन – २०८० ले तपसिलका बुँदाहरू ‘बाँके घोषणापत्र ’का रुपमा जारी गर्दछ । 

१. पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेका जनपक्षीय पत्रकारहरूलाई सक्रिय पत्रकारितामा आवद्ध हुनका लागि सम्बन्धित सबैसँग हातेमालो गर्दै अगाडि बढ्न प्रेरित गर्ने प्रतिवद्धता गर्दछ । 

२. नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनु पर्ने सञ्चार सम्बद्ध कानूनहरू नबनेको प्रति यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दै यथाशक्य निर्माण गर्न । 

३. संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण पराउँदछ । राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गर्दछ । 

४. श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानून अनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरू बञ्चित भइरहेका छन् । यो सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ । केही समययता बाँकेसहित देशभरका पत्रकारले न्यूनतम नियमित पारिश्रमिक पाउन नसकेकाले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको यो सम्मेलन माग गर्दछ । साथै दबाब, आन्दोलन र कानूनी उपचारलगायतका अभ्यासमा साथ र सहयोग रहने प्रण गर्दछ । 

५. सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलन स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तर्गतका सञ्चारमाध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ । 

६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि कार्यक्रम सञ्चालन गर्न सम्बन्धितसँग जोडदार माग गर्दछ । 

७. पत्रकारप्रति सुरक्षाकर्मी, प्रशासन र गैरराज्य पक्षले विभिन्न समयमा अनावश्यकरूपमा धरपकड तथा दुःख दिइरहेको प्रति सम्मेलन भत्सर्ना गर्दछ । साथै पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग यो सम्मेलन जोडदार माग गर्दछ । 

८. मिडिया हाउस आर्थिक रूपले सबल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामाग्री उत्पादन र मिडियाकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन कठिन छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न तीनै तहका सरकारसँग उद्योग, व्यवसाय र सामाजिक जबाफदेहीता अभिवृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ । 

९. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । कतिपय संघ संस्थाले सो अनुदान समेत प्राप्त गर्न सकेका छैनन् । हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन संघीय, प्रदेश तथा स्थानीय सरकारलाई यो सम्मेलन माग गर्दछ ।

१०. आमसञ्चारमाध्यमलाई नियमन, व्यवस्थित गर्न प्रदेश सरकारले  बनाइरहेको मिडिया काउन्सिल विधेयक निर्माण प्रक्रियालाई समानुपातिक समावेशी चरित्रको बनाउन यो सम्मेलन माग गर्दछ । 

११. लुम्बिनी प्रदेश सरकारले अनलाइन मिडियालाई दिने गरेको लोककल्याणकारी विज्ञापन यसवर्ष नदिइएको प्रति सम्मेलन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ । तत्काल उक्त सुविधा सञ्चालन गर्नका लागि प्रदेश सरकारसँग सम्मेलन जोडदार माग गर्दछ । 

१२. सरकारी तथा निजी सञ्चार माध्यममा कार्यरत स्ट्रिन्जर ( सम्बाददाता ) लगायतका पत्रकारहरूको आर्थिक सुनिश्चितताका लागि सामाजिक विकास कोषमा समाहित गर्न सम्बन्धित मिडिया हाउससँग सम्मेलन जोडदार माग गर्दछ । 

१३. जनपक्षीय र स्वरोजगारमुलक मिडिया सञ्चालन र व्यवस्थापनका लागि उचित नीति निर्माण गरी कार्यान्वयन गर्न राज्यको ध्यानाकर्षण पराउँदछ । 

१४. बाँके जिल्लाको कोहलपुरमा सञ्चालित सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजन तथा कोहलपुरमा प्रादेशिक कार्यालय राखी प्रकाशित हुँदै आएको गोरखापत्र दैनिक तथा नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय लगायतको स्तरवृद्धि गर्न प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण पराउँदछ । 

१५. प्रेस काउन्सिल नेपालले मिडिया विकास कोष मार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न मिडिया उपकरण खरिदमा ब्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई विशेष प्राथमिकताका साथ सहयोग गर्न यो सम्मेलन प्रेस काउन्सिल नेपालसँग माग गर्दछ । 

१६. बाँकेस्थित बाँके राष्ट्रिय निकुञ्ज, जिल्लाका विभिन्न स्थानमा रहेका गुम्बा, मस्जिद, नेपालगन्ज स्थित वागेश्वरी मन्दिर , राप्तीसोनारी स्थित सन्तानेश्वर मन्दिर र बर्फानी बाबा, खजुरास्थित मुसबेटवा बाबा, बैजनाथ स्थित गाभर होम स्टे तथा लुम्बिनी प्रदेश भित्रका धार्मिक तथा पर्यापर्यटन स्थलको समग्र पर्यटन प्रर्वद्धनमा लगानीको वातावरण सृजना गर्न सरकारसँग माग गर्दछ ।

 १७. तीनै तहका सरकारले गरेका जनपक्षीय काम जनतामा स्थापित गर्न यो सम्मेलन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई अनुरोध गर्दछ । 

१८. प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिले आयोजना गरेको लुम्बिनी मिडिया सम्मेलनको समन्वयकारी भूमिका निर्वाह गर्ने प्रेस सेन्टर बाँके, आ–आफ्नो स्तरबाट सहयोग गर्ने सबै पालिका स्तरीय समिति, सम्मेलनलाई सफल बनाउन सहयोग पुर्याउने नेकपा माओवादी केन्द्र पालिका, जिल्ला र प्रदेश समिति, निजी क्षेत्र तथा विभिन्न व्यक्ति एवं संघ संस्था लगायत सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।

Nabintech