१७ बैशाख २०८१, सोमबार
यू१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर ६ मा


नेपाल आइसिसी यू १९ विश्वकप २०२४ को सुपर ६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह डी मा तेस्रो बन्दै सुपर ६ मा पुगेको हो।

अब सुपर ६ मा नेपालले समूह ए का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।अफागनिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे।त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे।

देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो। तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए। दीपक बोहरा नेपाललाई ६ रन चाहिएको बेला २७ रन जोडेर आउट भएका थिए।

यस्तै ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालले नवौं विकेटको थियो। त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो। सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो।

आकासको उत्कृष्ट बलिङमा अफगानिस्तान १४५ रनमा अलआउट

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो।

खेलमा नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए।

यससँगै आकास यू १९ विश्वकपमा पाँच विकेट लिने नेपालका लागि चौथो बलर बने।

यसअघि नेपालका लागि राहुल विश्वकर्माले सन् २०१२ मा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिँदा ३ रन मात्र खर्चिएका थिए। यो नेपालका लागि यू १९ विश्वकपमा उत्कृष्ट बलिङ हो।

भुवन कार्कीले नामिबियाविरुद्ध २०१२ मा ५ विकेट लिँदा २१ रन दिएका थिए। यस्तै सन् २०१६ मा सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ५ विकेट लिँदा २७ रन खर्चिएका थिए। ‌

नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो।

नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए।

दोस्रो ओभरमा आकासले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए।

आकासले अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहदा ५।५ ‌ओभरमा बोल्ड गरे। दुई ओभरपछि आकासले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन सफल भए। आठौं ओभरको अन्तिम बलमा उनले सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए।

आकासले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाए। उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा अलि अहमदलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।

आकासले २० रन बनाएर खेलिरहेका हसन इशाखिललाई दिपेश कँडेलबाट क्याच गराएपछि उनले एकै खेलमा पाँच विकेट लिन सफल भए।

नेपालका लागि सातौं विकेट तिलकराज भण्डारीले लिए। उनले १८औं ओभरको तेस्रो बलमा एम घजानफरलाई ३७ रनमा आउट गरे। आउटहुनुअघि उनले तिलकलाई लगातार छक्का र चौका प्रहार गरेका थिए। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा अफगानिस्तानको स्कोरले केहि गति लिएको थियो।

यस्तै नसीर शाखले ३१ रन जोडे। नवौं विकेटका लागि उनले फारुदुनसँग ५५ रनको साझेदारी गरेका थिए। यो साझेदारी दिपेक कँडेलले तोडेका थिए।

फारुदुनले अन्तिम विकेटको रुपमा सुवास भण्डारीबाट आउट हुने क्रममा २९ रन जोडे।

बलिङमा नेपालका आकासले ५ विकेट लिँदा दिपेशले २ विकेट लिए। यस्तै सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १ १ विकेट लिए।

Nabintech