१८ बैशाख २०८१, मंगलवार
संस्थागत सुधारमा कोहलपुर नगरपालिकाको उल्लेख्य प्रगति


 बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ।

स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैंले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो।कोहलपुर नगरपालिकामा नगर प्रमुख पूर्णप्रसाद आचार्य नेतृत्वको जनप्रनिधिको टिम आएपछि लिजामा कोहलपुर नगरपालिकाले आफ्नो अंक सुधार गर्दै संस्थागत सुधारमा छलाङ मारेको हो।

आर्थिक वर्ष २०७९/०८० मा ८७.७५ प्रतिशत अंक ल्याउन सफल भएको सूचना तथा प्रविधि शाखा प्रमुख सागर चौधरीले जानकारी दिए। उनका अनुसार कोहलपुर नगरपालिकाले गत आर्थिक वर्ष ०७८/०७९ मा ६९ प्रतिशत अंक हासिल गरेको थियो भने ०७७/०७८ मा केवल ४७.७६ प्रतिशत अंकमात्रै हासिल गरेको थियो।

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ। समग्रमा एक सय अंकलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए।

उनका अनुसार वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तिय तथा आर्थिक व्यवस्थापनमा कोहलपुर नगरपालिकाले ११ मा ११ अंक नै हासिल गरेको छ। जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले बताए।

‘संस्थागत सुधार ल्याउनु भनेको विधि र पद्धतिलाई कार्यान्वयन गर्नु हो। अझ अर्को हिसावले भन्ने हो भने जनप्रतिनिधिलाई पनि कानुनको दायरामा थप कसिलो बनाउँदै जानु हो। सुशासन, पारदर्शीता र जवाफदेहितामा हामी जनप्रतिनिधि पनि निर्मम बनेर कसिएकाले यो परिणाम आएको हो,’ नगर प्रमुख आचार्यले भने।

आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर पालिकाले काम गर्दै आएको छ। इन्धनमा हुने कुपन प्रणाली खारेज गरिएको छ। कोटेशेनलाई निरुत्साहित गरिएको छ।

‘निर्वाचित भएर आएदेखि नै यसलाई संस्थागत बनाएका छौं। तेलमा हुने कुपन प्रणाली खारेज गरिएको छ। हाम्रा हरेक निर्णयहरू सार्वजनिक गर्ने गरिएको छ। नगरपालिकाको आफ्नै फेसबुक पेज छ। त्यसमार्फत् कार्यपालिकाका बैठकका निर्णय होस् वा सूचना सबै सार्वजनिक गर्ने गरेका छौं। हामी निर्वाचित भएर आएपछि कोटेशन खारेज गरेका छौं। कोटेशन शून्य हुने कोहलपुर नगरपालिका देशभरकै पहिलो स्थानीय तहनै होला भन्ने मलाई लागेको छ। कोटेशनबाट कार्यक्रम होस् वा ठेक्कापट्टा दिँदा त्यसले आर्थिक पारदर्शीता देखिएन। आफूअनुकूलका र नजिकका मान्छेहरू मात्र समेटिने र कार्यक्रमको प्रभावकारीता पनि नहुने भएकाले कोटेशन प्रणाली खारेज गरेर टेण्डर प्रक्रिया अवलम्वन गरिएको छ,’ संस्थागत सुधारका अध्यास सुनाउँदै नगर प्रमुख आचार्य भन्छन्।

नगर उपप्रमुख संगीता सुवेदीले पालिका सुशासन, पारदर्शी र जवाफदेही ढंगबाट चलेको सन्देश लिजामा देखिएको अंकले दिएको बताइन्। उनले जनताको आवश्यकता र प्राथमिकतालाई बुझेर लैजाने पालिकाको सेवा प्रवाहलाई अझै सरलीकृत बनाएर लैजाने प्रतिबद्धतासमेत जनाइन्।

Nabintech