२३ बैशाख २०८१, आईतवार
‘हाम्रो कोहलपुर’ तयार


कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीले अबदेखि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ पढ्न पाउने भएका छन् ।

कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेर स्थानीय पाठ्यक्रम लागु गरेसँगै कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीले सो पुस्तक पढ्न पाउने भएका हुन् ।

कक्षा १ देखि ५ सम्मका लागि तयार उक्त पाठ्यपुस्तक सोमबार एक कार्यक्रमबिच सार्वजनीकरण गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागि मात्र नभएर कोहलपुरवासी सबैका लागि उपयोगी भएको बताउनुभयो ।

उहाँले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो । पुस्तकले स्थानीय भाषा, कला संस्कृति, भूगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, सिर्जना र ज्येष्ठ नागरिकप्रतिको सम्मान गर्ने तरिका समेत सिकाएको उहाँले उल्लेख गर्नुभयो ।

नगर उपप्रमुख सङ्गीता सुवेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताउनुभयो । उहाँले आफू बसेको भूगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको बताउनुभयो ।

पाठ्यपुस्तक सार्वजनिक गरिएसँगै चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिनुभयो ।

मिजारका अनुसार पुस्तकमा कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्त्व र विशेषताहरू, हाम्रा विकासका पूर्वाधारहरू, हाम्रो पेसा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनोपयोगी सिप, हाम्रो वातावरण र विपद् व्यवस्थापन लगायतका विषयलाई समेटेर पाठ्यपुस्तक तयार पारिएको छ ।

विज्ञ ऋषि शर्माले स्थानीय स्रोतसाधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको बताउनुभयो । ‘कक्षा १ देखि ५ सम्म सात एकाइ छन् । तर विषयवस्तुको गहिराइलाई कक्षाअनुसार बढोत्तरी गरिएको उहाँले भन्नुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल, विज्ञहरू खोपीराम वली, सुमित्रा न्यौपानेलगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा पुस्तक निर्माणमा योगदान पुर्‍याएको भन्दै विज्ञहरूलाई सम्मानित गरिएको थियो ।

स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका बनेको छ । अन्य पालिकाहरूले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याए पनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

Nabintech