२५ बैशाख २०८१, मंगलवार
समाजवाद नै प्रमुख लक्ष्य हो : उपमहासचिव शर्मा


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘ प्रभाकर’ले पार्टीले समाजवादको लक्ष्य सहित अभियान सञ्चालन गरेको  बताएका छन ।

शनिबार नेपालगञ्जमा भएको थारू मधेसी र मुस्लिमको संयुक्त जिल्ला भेलामा बोल्दै ‘प्रभाकर’ ले माओवादी पार्टीको अभियान समाजवाद रहेको र ८४ को निर्वाचनको लागि नभएको बताएका हुन् । ‘देशको विकास र समृद्धिका साथै राष्ट्रिय एकता र भौगोलिक अखण्डताको लागि समाजवाद स्थापनाको अभियान लिई अघि बढेका छौ,’ उनले भने, ‘अबको हाम्रो लक्ष्य भनेको देशलाई समाजवादको दिशामा अगाडि बढाउदै लैजाने हो ।’

प्रभाकरले माओवादीकै एजेन्डामा देश अगाडि बढेको छ तर केही प्रतिक्रियावादीहरूले देशमा विखण्डन ल्याउन खोजिरहेको आरोप लगाए ।

नेकपा माओवादी पार्टीको राजनीतिक धरातल भनेको उत्पीडित श्रमजीवी मजदुर वर्ग हुन् । मजदुर वर्गको अधिकार स्थापित गर्नका लागि पार्टी निरन्तर लडिरहेको उपमहासचिव प्रभाकरले बताए ।
माओवादी पार्टीले गरेको वर्ग संघर्ष र क्रान्तिबाट देशमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक, प्रतिनिधित्व र सामाजिक न्याय सहितको संविधान जारी गरेकोले संविधानको रक्षा गर्न सम्पूर्ण उत्पीडित वर्ग एकजुट हुन उपमहासचिव प्रभाकरले आग्रह गरे ।

यस्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुल प्रसाद केसी ‘सोनाम’ ले संघीयता ले देशको विकास र समृद्धिमा महत्वपूर्ण योगदान दिएको बताए । जनतामा आक्रोश आउनु र नैराश्यता पैदा हुनु दुःखत हो किनकी २०६४ साल पहिले र अहिलेको अवस्थाको बारेमा तुलना गर्न आग्रह गरे ।

‘सोनाम’ ले मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, विद्युतिकरणको तिव्र विकासले फड्को मारेको बताउँदै घाटामा गएका आयल निगम, नेपाल एयरलाइन्स, लगायतका संस्थाहरू अहिले क्रमश नाफातर्फ अगाडि बढेको स्मरण गराए ।

यस्तै राष्ट्रिय थारू मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष शन्त कुमार थारूले आफ्नो हलो जोत्ने मान्छेहरू मेयर सांसद र मन्त्री भएको देख्दा हिजोका शासकहरूलाई असैह्य भएको बताए । यो देशमा लामो समयसम्म जमिन्दार र शासकहरूले थारूहरूलाई दास बनाएको स्मरण गर्दै विगतको त्यो दुखलाई उत्पीडित समुदायले बिर्सन नहुने बताए ।

नेकपा माओवादी केन्द्रले देशव्यापी रुपमा सञ्चालन गरेको जनतासँग माओवादी विशेष रूपान्तरणको चार महिने अभियानको करिब अन्तिम अवस्थामा गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्यहरू दामा शर्मा, कृष्णा के सि नमुना, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू कविर, नरेन्द्र पाण्डे जेम्स लगायतले आ आफ्नो धारणा राखेका थिए ।

यस्तै कार्यक्रमको अध्यक्षता मुस्लिम मुक्तिमोर्चाका बाँके अध्यक्ष सब्बिर खाँले गरेका थिए । बाँकेका सबै पालिकाहरू बाट उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा थारू सांस्कृतिक झाकी तथा नृत्यहरू प्रस्तुत गरिएको थियो ।

Nabintech