१२ श्रावण २०८१, शनिबार
गृह मन्त्रालयमा आकस्मिक बैठक सुरु

उद्दार र उपचारमा कमी हुन नदिन गृहमन्त्री श्रेष्ठको निर्देशन



काठमाडौं/ उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भुकम्पपीडितको उद्दार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ। अहिले १० बजेबाट गृह मन्त्रालयमा सुरु बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्दार निकायको प्रतिनिधित्व छ।
शुक्रबार राति २३.४७ बजे(१२ बज्नु १३ मिनेट अगाडि) जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्दारमा जुटेका छन्।
गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाईसकेको प्रवक्ता नारायण भट्टराईले बताउनुभएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्दारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्।
सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत घटनास्थलहरूमा पुगिसकेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्दार र उपचारमा कुनै कमी हुन नदिन निरन्तर समन्वय गर्दै आवश्यक निर्देशन दिईरहनुभएको र पछिल्लो अपडेट अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० घाइते, पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएको जानकारी नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताहरूले दिनुभएको छ। नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायत र सशस्त्र प्रहरीका राजेन्द्र खड्काले भौतिक क्षतिको विवरण भने यकिन भैनसकेको बताउनुभयो।

Nabintech