९ जेष्ठ २०८१, बुधबार
१५० रूपैयाँमा इन्टरनेट


सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै न्युनतम हो । नेपालमा ५ सयदेखि १२ सयसम्म तिरेरमात्रै अति साधारण इन्टरनेट जोड्न पाइन्छ ।

नेटवर्कले नेपालगञ्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ । १५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिँदापनि आफूलाई फाइदा भइरहेको सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीले बताएका छन् ।
उनले भने, म स्वयम्लाई इन्टरनेटको वास्तविक मूल्य कति हुन्छ भनेर थाहा पाउन दुईदेखि तीन वर्ष लाग्यो । २०–३० रूपैयाँमा मज्जाले ३–४ वटा मोबाइल चलाउन सकिन्छ । सामान्य इन्टरनेट कम्पनीको बिल हेर्दा १४ सय रूपैयाँको छ । ७०० रूपैयाँ इन्टरनेट चार्ज लिएका हुन्छन् भने ७०० मर्मत खर्च भनेर ठोकिरहेका हुन्छन् । जबकी मर्मत खर्च ५ रूपैयाँदेखि १० रूपैयाँमा २५ बर्षदेखि गरिरहेको छु । केबल चलाइरहेको म अब इन्टरनेट किन नचलाउने भनेर रिसर्च गरेपछि मैले यो पत्ता लगाएको हो ।

म २०–२५ वर्षदेखि केबल व्यवसायमा छु । १५ रूपैयाँको नाफाले घरमै गएर मर्मत गरेर प्रदान गर्दै आएको सेवा इन्टरनेट कम्पनीहरूले ७ सय रूपैयाँ लिनु अस्वभाविक हो । मैले १५० रूपैयाँमा नेट बिक्री गर्दा पनि सरकारको राजस्वसहित सबै खर्च कटाएर पनि ७० देखि ८० रूपैयाँ नाफा भइरहेको छ । मलाई टीभीभन्दा नाफा यसैमा भइरहेको छ । टीभीमा १० रूपैयाँमा सेवा दिन्थेँ भने, मलाई ८० रूपैयाँ नाफा आइरहेको छ । मेरो लागि टीभीभन्दा राम्रो यही चलिरहेको छ ।

उनले इन्टरनेटको स्पीडमा पनि ठगी भइरहेको खुलासा गरे । कम्पनीहरूले ५० एमबीपीएस, १००–२०० एमबीपीएस भनेर भन्ने कुरा नेपालमा सबैभन्दा ठूलो ठगी हो । मलाई पनि यो बुझ्न अलिक समय लाग्यो । कुनै पनि मोबाइलको क्षमता १।२ एमबीपीएसभन्दा माथि हुँदैन ।

जुनसुकै कम्पनीले जति एमबीपीएस दिए पनि मोबाइलले लिनसक्ने भनेको १।२ एमबीपीएस हो । १।२ एमबीपीएसलाई कम्पनीहरूले सफ्टवेयरको माध्यमबाट २००, ३०० र ४०० एमबीपीएस बनाएर देखाउँछन् र बेच्छन् । ल्यापटप, कम्प्यूटरले हदैसम्म लिएर दुई तिन गुणभन्दा बढी लिँदैनन् । यहाँ झन् ठूलो ठगि भइरहेको छ । यो प्रविधिको ज्ञान अब धेरैमा हुन थालेको छ अब धेरै ठग्न पाउँदैनन् उनले भने ।

Nabintech