२१ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाको ७ बुँदे प्रतिबद्धता


स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनको उचित व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले ७ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । गेरुवा ग्रामीण जागरण संघले आज कोहलपुर नगरपालिकामा आयोजना गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थान बारे संचारकर्मी, मानव अधिकारर्मी र पालिकाका पदाधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले ७ बुँदे प्रतिबद्धता व्यक्त गरेको हो ।

हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका लागि वार्षिक कार्ययोजना बनाएर लागू गर्ने, स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापनका लागि तालिम प्राप्थ निर्दिष्ट व्यक्ति अर्थात फोकल पर्सन तोक्ने, स्रोतमा नै फोहरको वर्गिकरण गर्न विभिन्न रंगका बाल्टि तथा विनहरुमा राख्ने लगायतका प्रतिबद्धता नगरपालिकाले गरेको छ ।

यसैगरी फोहरको प्रकृतिअनुसार उचित स्थानमा भण्डारण गर्ने वा गाड्ने, फोहर व्यवस्थापनमा संकलन कर्मचारीले व्यक्तिगत सुरक्षा मापदण्ड अनुशरण गरेको निश्चित गर्ने, कुहिने फोहरमैलालाई प्रांगारिक मल बनाएर प्रयोग गर्ने, सवै स्वास्थ्यकर्मी र फोहर संकलनका लागि हेपाटाइटस बी, टिटानास लगायतका संक्रमण विरुद्ध खोप लगाउने र फोहर व्यवस्थापनका लागि उपयुक्त विकल्पहरुको खोजी गरी दीगो व्यवस्थापनको योजना बनाइ लागु गर्ने प्रतिबद्धता नगरपालिकाले गरेको गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशक हरि सुवेदीले जानकारी दिनुभयो ।

अन्तरक्रियामा नगर प्रमुख आचार्यले फोहर व्यवस्थापनका लागि भएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो । ‘स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनका लागि हाम्रा नीतिगत व्यवस्थाहरु छन् । त्यसको कार्यान्वयन प्रभावकारी गराउन आवश्यक छ उहाँले भन्नुभयो–‘यसका लागि नगरपालिका गम्भीरताका साथ लाग्छ ।’

उहाँले सिर्जित फोहरको व्यवस्थापनका लागि प्राविधिक सामाग्री र प्रविधिको अभाव रहेको पनि बताउनुभयो । उहाँले स्वास्थ्य संस्थाजन्य फोहर र विद्यालयबाट निस्कने फोहर व्यवस्थापनका लागि नगरपालिका गम्भीर रहेको पनि उल्लेख गर्नुभयो । अधिबक्ता वसन्त गौतम र पत्रकार शंकर खनालले स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापनका विषयमा यसका प्रभाव, असर, कानुनी व्यवस्था, स्थानीय सरकारले गरेका कामलगायतका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, परियोजना लागूभएका वडाका वडाअध्यक्षहरु, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Nabintech