८ जेष्ठ २०८१, मंगलवार
यस्तो छ १६ डाक्टरलाई जहाजबाट झारेर आफू चढेको आरोपबारे माओवादी नेता मातृका यादवको भनाई


मुगुको ताल्चा विमानस्थलमा १६ जना डाक्टरको टोलीलाई ओरालेर माओवादी नेताहरु समिट एयरको जहाजमा नेपालगञ्ज आएको अरोप सहितको समाचार सार्वजनिक भयो ।
जहाजमा माओवादी केन्द्रका उपमहासचिव माृतकाप्रसाद यादव, कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पाँच माओवादी नेता मंगलबार नेपालगञ्ज आएका हुन् । खास उक्त प्रकरणमा के भएको हो भन्नेबारे यादवसँगको कुराकानीमा आधारीत :

हामी हिजै मुगुबाट सुर्खेत आउनुपर्ने थियो । टिकट हिजैकै हो हाम्रो । तर, जहाज बिग्रिएर हिजो गएन । हाम्रो पार्टीको नेता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समिट एयरका साहुजीलाई बिहानै जहाज पठाइदिन आग्रह गर्नुभयो । हिजै रोकिएका हामीलाई लिन जहाज गएको हो । हामी पाँच जना थियौं । १६ सिटको जहाजमा हामी मात्र आउने कुरा भएन । काठमाण्डुबाट गएका डाक्टरहरुको टोली जुम्लामा एउटा कार्यक्रममा सहभागी भएर रारा घुम्न गएको रहेछ । राराबाट फर्किएर उहाँहरु पनि नेपालगञ्ज हुँदै काठमाण्डु फर्कन ताल्चा विमानस्थ पुग्नुभएको जानकारी हामीले पायौं ।

उहाँहरुको टिम १६ जनाको रहेछ । हामी हाम्रो लागि आएको जहाजमा उहाँहरुमध्ये ११ जनालाई ल्याउन तयार भयौं । तर, उहाँहरुले एउटै टिम भएकाले आफूहरु छुट्न नमिल्ने र सँगै जानुपर्छ अडान लिनुभयो । हामीले हिजै जानुपर्ने थियो, जहाज बिग्रिएर आज हामीलाई लिन आएको भन्यौं । तर, डाक्टरहरु आक्रोशित हुनुभयो । पेशागत मर्यादाको समेत ख्याल नगरेर उहाँहरुले जहाजको पार्किङस्कथलसम्मै आएर हुलहुज्जत गर्नुभयो । नेताहरु रहेछन् एकछिन लफडा गर्न पाए डराएर पछि हट्छन् भन्ने मनोविज्ञान उहाँहरुको देखियो । हामीलाई पनि जानैपर्ने जरुरी थियो । डराएर त भएन । हाम्रो तर्फबाट कुनै जबर्जस्ती भएको होइन । बरु हामीले मेरो र शाहीजीको सुरक्षामा कटिएका पिएसओहरुलाई गाडीबाट आउन भनेर पनि डाक्टरहरुलाई ल्याउन खोजेका थियौं ।

समाचारहरुमा उहाँहरुले भए नभएको दाबी र आरोप लगाउनुभएको रहेछ । अपरेशन गर्नुपर्ने बिरामी पनि आउन पाएनन् भनेर । उहाँहरु १६ जना हुनुहुन्थ्यो । हामीले ११ जनाका लागि सिट छ जाऔं भनेकै हौं । १६ जनाकै अपरेशन त थिएन होला ? किन उहाँहरुले १६ को १६ नै जानुपर्ने, कोही पनि छुट्न नमिल्ने अडान लिनुभयो ? अपरेशन गर्नुपर्ने बिरामी छाडेको भन्नेले किन हामीसँग नपठाएको छ ? एक जना सुत्केरी ब्यथाले सिकिस्त महिलालाई ल्याउदै गरेको सूचना आयो ।

हामीले पाइलटलाई विशेष आग्रह गरेर ती महिलालाई आधा घण्टासम्म कुरेर ल्यायौं । हामीलाई पनि मानवीय पक्षको ज्ञान छ । बिरामी आउन रोक्ने आफैं अनि आरोप हामीलाई लगाउन पाइँदैन । फेरि जुम्ला गएको मानिसहरु किन मुगु गएको ? त्यति धेरै इमर्जेन्सी थियो भने रारा घुम्न नजानु नि । सिधै जुम्लाबाट काठमाण्डु आउनु ।
(यादवसँग टेलिफोन कुराकानीमा आधारित)

Nabintech