१२ श्रावण २०८१, शनिबार
लुम्बिनी प्रदेश सरकारलाइ सरुवा भएका कर्मचारीले टेर्दैन्न

बढी समस्या वन तथा वातावरण मन्त्रालय मातहतमा रहेका कार्यालयहरूमा



दाङ / लुम्बिनी प्रदेश सरकारले कर्मचारीको सरुवा गरेपनि सरुवा भएको कार्यालयमा कर्मचारी जान मन गरेका छैनन्। केही समयअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयले कर्मचारीको सरुवा गरेको थियो।

तर, हाल कर्मचारीको सरुवा भएको ठाउँमा जान मन नगरेको बताइएको छ। बढी समस्या वन तथा वातावरण मन्त्रालय मातहतमा रहेका कार्यालयहरूमा देखिएको छ।

तोकिएको कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशनात्मक पत्र दिए पनि कर्मचारीहरू अझै सम्बन्धित कार्यालयमा पुगिनसकेको बताइएको छ।

डिभिजन वन कार्यालय, देउखुरीमा कार्यरत ७ जना कर्मचारीको सरुवा भएको थियो, जसमध्ये दुईजना कर्मचारी सरुवा भएर जान मन गरेका छैनन्। सरुवा भएर तीनजना कर्मचारी मात्रै आएका छन्। दुईजना अधिकृत र एकजना फरेस्टर मात्रै आएको कार्यालयले जनाएको छ।

‘सरुवा नमागेका कर्मचारीको पनि सरुवा भएको भनेर एक जना रेन्जर जान मन गर्नु भएको छैन’, सहायक वन अधिकृत छोटेलाल चौधरीले भने, ‘एकजना वन रक्षकको दुई ठाउँ सरुवा भएको रहेछ। उहाँ प्यूठान जाने तयारीमा रहेको बुझेको छु।’

सरुवा भएका मध्य रेन्जर पुस्कर विक र वन रक्षक रविन्द्र थारु सम्वन्धित कार्यालयमा जान बाँकी छ। यस्तै, डिभिजन वन कार्यालय, बाँकेमा कार्यरत सहायक वन अधिकृत गणेश खड्काको रोल्पा डिभिजन वन कार्यालयमा सरुवा भयो। तर, खड्का अझै रोल्पा गएका छैनन्।

‘सरुवा भएको कर्मचारी बसेर हुँदैन। म जाने तयारीमै छु। कसले के कुरा गर्‍यो थाहा भएन’, खड्काले भने, ‘कार्यालय प्रमुख काठमाडौं जानु भएको छ। उहाँ आएपछि म हाजिर भइहाल्छु। यसमा गाह्रो कुरा नै भएन। सरुवा भएपछि जाँदैन भन्न मिल्दैन।’

एक दर्जन बढी कर्मचारी तोकिएको कार्यालयमा अझै हाजिर हुन नपुगेको बताइएको छ। वर्षौंसम्म पनि एउटै कार्यालयमा बसेका कर्मचारीहरूले अर्को जिल्लामा जान मन नगर्ने प्रवृत्ति बढ्दो छ।

डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयका कर्मचारीलाई रमनाको समय समेत सकिसकेको छ।

लुम्बिनी प्रदेशको १३३ औं सचिवस्तरीय बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट भएको सरुवा शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ। असोज २ गते बसेको बैठकले सरुवा वा कामकाजमा खटाइएका जनशक्तिलाई रमाना दिन बाँकी भए तत्काल रमानाको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।

Nabintech