१२ श्रावण २०८१, शनिबार
शम्शरेगञ्ज बस दुर्घटना: ७ को मृत्यु, २५ घाइते


दाङबाट नेपालगन्जतर्फ आइरहेको ना ७ख २३२१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्ज पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।

राप्तीसोनारी–८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । बसमा चालकसहित ४१ जना सवार थिए ।
दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू, चालक ४५ वर्षीय जुगबहादुर चन्द र बारबर्दिया नगरपालिका–७ बस्ने ३४ वर्षीय सहचालक वसन्त कार्की गरी ७ जनाको मृत्यु भएको हो ।

घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट बर्दियातर्फ फर्कंदै गरेको ठाकुरबाबास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली दुर्घटनामा परेको प्रहरीको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 घाइते मध्ये गम्भीर २ जना, मध्यम १२ जना, सामान्य १५ जना, सकुशल ५ जना गरी ४१ जना रहेको तिवारीले जानकारी दिए ।

Nabintech