४ जेष्ठ २०८१, शुक्रबार
कृष्ण जन्मअष्टमी :लोप हुँदै थारू लोक चित्रकला


थारु समुदायमा कृष्ण जन्मअष्टमीलाई विशेष पर्वको रुपमा मनाइनेगरिन्छ । थारु समुदायले अष्टमीका दिन वर्त बसेर घरमा चित्र कोर्ने प्रचलन रहेकोमा त्यो आजभोलि लोभ हुन थालेको छ । अहिले घरघरमा हस्तनिर्मित चित्रमा नभई बजारमा पाइने पोष्टरमा अष्टमी मान्ने गरिन्छ ।
कोहलपुर ६ की राम कृष्णी चौधरीले पहिले र अहिलेको अष्टमीमा धेरै फरक भैरहेको बताउँछिन् । ‘अष्टमीको दिन बिहानै गाउँको अगुवा, महटवा, भलमन्साकोे घरको बैठक कोठा (बह्री) मा उत्तरतिरको भागमा भित्तामा फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रगीबिरंगी बुट्टा, बरमुन्हा, दौपदी, पाँच पाण्डवहरू लगायतका विभिन्न तस्बिर हुन्छ । कसैले छाता ओढेको, कसैले मादल बोकेको, कसैले नाचेको तस्बिर बनाइएको हुन्छ । यस्ता तस्बिर अहिले धेरैजसो लोप भइसकेका छन्,’ उनले भनिन् । अष्टमीको चित्र मात्रै होइन अन्य थारूहरूको संस्कृति परम्परा पनि लोप भइरहेको उनको भनाइ छ ।
थारू संस्कृतिका जानकार थारू संस्कृतिविद् अशोक थारूले भने थारू लोक संस्कृतिहरू आधुनिताका कारण लोप हुन थालेको बताउँछन । मूर्त सँगसँगै अमूर्त परम्परा पनि लोप हुन थालेको उनको भनाइ छ । नयाँ पुस्ताले आफ्ना संस्कृतिप्रति चासो नदिदा अष्टमीको चित्र बनाउने परम्पराको मौलिकतामा प्रभाव पारिरहेरको छ ।
अहिलेको समयमा हेर्ने हो भने समय परिवर्तनसँगै विज्ञान र प्रविधिको विकासँगै धेरै आधुनिकता भित्रिसकेको छ । यही आधुनिकतासँगै थारू समुदायमा पनि धेरै कुराहरूमा आधुनिकीकरण भइसकेको अवस्था छ । लवाई, खवाईदेखि लिएर हरेक चिजमा परिवर्तन भएको छ । समय र परिस्थिति अनुसार परिवर्तन हुनु पनि पर्छ । तर परिवर्तन सँगसँगै परिवर्तन हुुनुपर्छ भन्दैमा आफ्नो पहिचान नै धरापमा पारेर होइन । मौलिकता र आधुनिकता दुबैलाई ध्यान दिएर सँगसँगै लैजान सक्यौँ भने पक्कै पनि राम्रो हुनेछ । अहिलेको परिस्थितिमा जन्माष्टमीमा भित्तामा कोरिएको तस्बिर भन्दा पनि बजारमा पाइने श्रीकृष्णको पोष्टरमा पूजा गर्ने प्रचलन बढी छ । जसले गर्दा जन्माष्टमीमा भित्तामा कोरिने तस्बिरहरू लोप भएर जाने सम्भावना बढी हुन्छ ।

Nabintech