४ जेष्ठ २०८१, शुक्रबार
ट्राफिक ब्यवस्थापन र दुर्घटना न्युनिकरण गरिने–ट्राफिक प्रमुख सुबेदी


सडक र सवारी दुर्घटनालाई न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताएका छन् ।

बाँके जिल्लाको ट्राफिक व्यवस्थापनमा विभिन्न खालका चुनौति रहेको बताउँदै ट्राफिक कार्यालय प्रमुख सुबेदीले यहाँका रहेको ट्राफिक समस्यालाई नयाँ योजनासहित तिब्र रुपमा सुधार हुने बताएका छन् । भर्खरै बाँके जिल्लाको ट्राफिक प्रमुखमा आएपछि सुबेदीले जिल्लाको वस्तुस्थिति बुझेको र सो मध्ये मुख्य मुख्य चोकहरु पार्किङको समस्या, साना सावारी साधनको चापदेखि यहाँका प्रमुख स्थान र राजमार्गहरुमा हुन सक्ने दुर्घटनाको पूर्वसावधानीको सम्वन्धमा व्यवस्थापन गर्न आफु लागि पर्ने बताएका हुन् ।

शनिबार आफ्नो कार्यकक्षमा कोहलपुरका क्रियाशिल पत्रकारहरुसँग गरिएको भेटघाटका क्रममा ट्राफिक प्रमुख सुबेदीले आफ्नो कार्यकालमा बिना इजाजत र पास विना चल्ने सरकारी सवारी साधन देखि सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने सवारीलाई नियन्त्रण लिएर कानून बमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गरे । उनले ट्राफिक ब्यवस्थापन र दुर्घटना न्युनिकरणमा आफू केन्द्रित हुने बताए ।

उनले प्रहरीलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई बदलेर सकारात्मक सोचको माहोल बनाउने गरि आफुले कार्य गर्ने बताए । जिल्लामा ट्राफिक ब्यबस्थापन र दुर्घटना न्युनिकरणका बिषयमा पत्रकारहरुविच राय सुझाव लिंदै उनले आफ्नो क्षेत्राधिकार भित्र रहेर कार्ययोजनाका काम गर्ने बताए । दुर्घटना न्यूनिकरण गर्नको लागि सुबेदीले चालकहरुलाई सचेत पार्ने, मापसे चेकिङमा कडाइ गरिने, ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिईने बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिंदै सुबेदीले सवारी नियम उलंघन गर्ने मापसे तथा लापसे चेकिङलाई कडाईका साथ लागु गर्नुकासाथै हरेक जरीवानाहरु डिजिटल पेबाट गर्ने नियम बाँके जिल्लामा श्रावण महिना देखि लागु भईसकेको जानकारी दिए ।

उनले कुनै ट्राफिक प्रहरीले चिट काटेर नगद लिएको सुचना पाए कारवाहि गरिने भन्दै कोहलपुरका फुटपाथमा पार्किङ गरेर राखेका निजि सवारी साधनलाई हटाउने, जेब्रा क्रसिङमा सवारी साधन तथा अटो रिक्सा रोक्ने परिपाटिको अन्त्य गर्न एक हप्ते चालक सचेतना अभियान चलाईने समेत जानकारी दिए । बिद्यालय क्षेत्र र जेब्रा क्रसमा सवारी साधनको गति तिब्र हुने गरेको जनगुनासो समेत आएको भन्दै सुबेदीले कोहलपुर क्षेत्रको चौराह क्षेत्र, बसपार्क क्षेत्र र नेपालगञ्जको अति ब्यस्त स्थानहरुमा बिशेष अभियान चलाई दुर्घटना न्युनिकरणमा अहम भुमिका खेल्ने गरि कार्य क्षेत्रमा खटिने बताए । उनले जनशक्ति थोरै र कार्य क्षेत्र ब्यापक भएको सन्दर्भमा पनि बाँके ट्राफिक प्रहरीले जिल्लाका बिभिन्न स्थानमा ट्राफिक बिटहरुको स्थापना गरि सवारी ब्यबस्थापन गर्दै आएको बताए ।

नेपालगञ्जका विभिन्न सडकहरुमा अटो रिक्साका कारण पैदल यात्रिहरुले सास्ति ब्यहोर्नु परेको विषयलाई समेत ट्राफिक प्रहरीले विशेष अप्रेसन गरि ब्यबस्थापन गरीने बताए । जिल्ला ट्राफिक कार्यालय बाँकेमा हालै सरूवा भएर आएका प्रहरी निरिक्षक सुबेदीले जिल्लामा केही नयाँपन दिनेगरी काम गर्ने उल्लेख गरेका छन् । सुबेदी मुस्ताङबाट हालै सरुवा भएर ट्राफिक प्रमुखका रूपमा बाँके आएका हुन् ।

Nabintech