१२ श्रावण २०८१, शनिबार
शिव शिखरका सञ्चालकविरुद्ध दुई अर्बको मुद्दा दायर हुने

अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ 



काठमाडौ / शिव शिखर सहकारीको संगठित ठगीसम्बन्धी घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन पेस गरेको छ । १९ जनाविरुद्ध करिब दुई अर्ब बिगो दाबी गरी मुद्दा दायर गर्नुपर्ने सिआइबीको निष्कर्ष छ ।हालसम्मकै ठूलो सहकारी ठगी प्रकरणमा सिआइबीले काठमाडौंका शाखामा भएको कारोबारका जाहेरी लिई अभियोजन प्रक्रिया अघि बढाएको छ । काठमाडौंका सेयर सदस्यहरूले ८५ करोड रुपैयाँबराबरको रकम ठगी भएको भन्दै जाहेरी दिएका थिए । काठमाडौंका शाखामा दुई अर्ब बचत देखिएकाले सम्पूर्ण बचतलाई बिगो कायम गरी मुद्दा चलाउनुपर्ने सिआइबीको राय छ ।

सिआइबीले संगठित अपराध र ठगी मुद्दामा यस प्रकरणको अनुसन्धान गरेको हो । अनुसन्धान पूरा गरी सोमबार प्रतिवेदन बुझाइएको सिआइबीका एसपी नवराज अधिकारीले बताए । १९ जना प्रतिवादीमध्ये नाइके केदारनाथ शर्मासहित सातजना थुनामा छन् भने १२ जना फरार छन् । बाँकेका शर्माले सहकारीका पैसा आफ्ना निजी कम्पनीमा लगानी गरी सहकारी संस्था डुबाएका हुन् । शर्मालाई सिआइबीले गत १२ असारमा भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

शर्माका विभिन्न कम्पनीको नाममा सम्पत्ति रहेको र त्यसलाई रोक्का राखेको सिआइबीले जनाएको छ । उपत्यकाका शाखाको हकमा सिआइबी र उपत्यकाबाहिरको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । यसअघि उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा भने मुद्दा पनि दायर भइसकेको छ । जसमा शर्माकी श्रीमती गीता शर्मा तथा सञ्चालकद्वय अमिश राजभण्डारी र पुष्कर मल्ल पक्राउ परेकोमा उनीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । काठमाडौंमा पनि उनीहरूलाई प्रतिवादी बनाउन लागिएको छ ।

०७० मा स्थापना भएको सहकारीले अन्य सहकारीभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गरेको थियो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको पाइएको छ । शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो । जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको हो । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँबा पनि फिर्ता भएन ।

सहकारीमा एकैपटक पैसा निकाल्ने बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लागेको हो । पूर्वअध्यक्ष शर्मा भारत भागेका थिए । उपत्यकाको हकमा सिआइबीले अनुसन्धान गरेकोमा अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । सो सहकारीले ३६ वटा शाखा कार्यालयबाट करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सिआइबीको निष्कर्ष छ ।

Nabintech