१७ बैशाख २०८१, सोमबार
विद्यालयमा आँखा पाक्ने रोगको औषधि वितरण


बाँकेका विभिन्न पालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालयमै पुगेर औषधि वितरण सुरु गरिएको छ । जिल्लाको कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका विद्यालयहरूमा पुगेर बालबालिकालाई आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को औषधि वितरण गरिरहेको छ ।

खजुरा गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाले संयुक्त रूपमा वडा नम्बर २, ३, ४, ५ र ६ का विभिन्न विद्यालयमा पुगेर आँखा पाक्ने रोगको औषधि वितरण गरेको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकका अनुसार विद्यालयमा अध्ययनरत धेरै बालबालिकामा आँखा पाक्ने सङ्क्रमण फैलिएको जानकारी आएपछि स्वास्थ्य शाखाले औषधि वितरण सुरु गरेको हो । उहाँले पालिकाभित्रका सबै विद्यालयमा पुगेर बालबालिकाको आँखा परीक्षण गर्ने र औषधि वितरण गरिने जनाउनुभयो । सोही प्रकारले कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीको नेतृत्वमा पालिकाको स्वास्थ्य शाखाले नगरभित्रका विभिन्न विद्यालयमा पुगेर आँखा पाक्ने रोगको औषधी वितरण गरेको जनाइएको छ ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सुवेदीले नगरका धेरै बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ फैलिएको जानकारी आएपछि आफैँ विभिन्न विद्यालयमा पुगेर बालबालिकालाई औषधी वितरण गरिएको बताउनुभयो । उहाँले नगर स्वास्थ्य शाखा र शिक्षा शाखाले सबै विद्यालयमा पुगेर सो रोगबाट पीडित बालबालिकालाई औषधि वितरण गर्ने बताउनुभयो ।

विद्यालयका बालबालिकालाई सो रोगबाट जोगिने उपायहरूको जानकारी गराउनुका साथै सङ्क्रमण भइसकेपछि केके गर्नु पर्छ र केके गर्नु हुँदैन सो बारेमा पनि जानकारी गराइएको पालिकाले जनाएका छन् ।

नेपालगन्जस्थित भिजन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा। प्रचण्ड गौतमले आँखा चिलाउने, रातो हुने, आँखा सुन्निने, कचेरा आउने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी वा आँखारोग विशेषज्ञसँग परामर्श लिन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ । उहाँले अहिले यस्तो समस्या बालबालिकामा बढी देखिएकोले सचेतना अपनाउँदै स्वास्थ्यको मापदण्ड पालना गर्नुहुन पनि सबैलाई अनुरोध गर्नुभएको छ ।

Nabintech