१२ श्रावण २०८१, शनिबार
मोबाइल बैंकिङको सिस्टम ह्याक गरेर लाखौं रूपैयाँ ‘ट्रान्सफर’


मोबाइल बैंकिङ प्रविधिको सिस्टम नै ह्याक गरेर लाखौं रूपैयाँ ट्रान्सफर गर्ने कार्यमा संलग्न दुई व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।

उनीहरूले भरतपुरस्थित नारायणी डेभलपमेन्ट बैंकको पैसा गैरकानुनीरूपमा आफ्नो खातामा ट्रान्सफर गरेका थिए। पैसा झिक्नेक्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

जेठ १४ गते बाँके घर भएर हाल नारायणगढ बस्दै आएका २९ वर्षीय योगेनकुमार विकले नारायणी डेभलपमेन्ट बैंकको नारायणगढ शाखामा खाता खोलेका थिए। त्यही दिन उस्तै समयमा बारा घर भएका ३१ वर्षीय नन्दकिशोर कुमार यादवले सोही बैंकको यज्ञपुरीस्थित शाखामा खाता खोले।

जेठ १९ गते विभिन्न व्यक्तिको नामबाट योगेनको खातामा ५ लाख ३३ हजार ४०० रुपैयाँ जम्मा भयो। सोही दिन नन्दकिशोरको खातामा १३ लाख ७८ हजार रुपैयाँ जम्मा भयो। उनको खातामा पनि धेरै व्यक्तिले पैसा पठाएका थिए। ती खातामा एकै दिन उस्तै समयमा ४८ हजारदेखि २ लाख रूपैयाँसम्म पैसा पठाइएको थियो।

जेठ २० गते उनीहरू पैसा निकाल्न बैंक पुगे। पैसा निकाल्दै गर्दा बैंकका कर्मचारीले उनीहरू माथि शंका गरे। थाहा नपाउनेगरी प्रहरीलाई खबर गरे।

‘हामीलाई बैंकका कर्मचारीले दुईवटा खातामा धेरै बचतकर्ताको खाताबाट शंकास्पदरूपमा पैसा जम्मा भएको र उनीहरू अहिले पैसा निकाल्न लागेको भनेर खबर गरे। प्रहरी टोली त्यहाँ पुग्दा बैंकका कर्मचारीले उनीहरूलाई भुलाइरहेका रहेछन्। हामीले दुवैजनालाई नियन्त्रणमा लियौं,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंडितले बताए।

प्रहरीले बैंकका प्रमुख कार्यकारी अधिकृतसँग सम्पर्क गर्‍यो। उनकै जाहेरीका आधारमा योगेन र नन्दकिशोरलाई थुनामा राख्यो।

प्रहरीले उनीहरूलाई लामो समयसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। बैंकिङ कसुरको मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ।

अनुसन्धानकाक्रममा यी दुई व्यक्तिको खातामा पैसा ट्रान्सफर हुँदा भारत र बेलायतको कोड प्रयोग भएको भेटिएको थियो। जसको खाताबाट पैसा गएको छ उनीहरूमध्ये अधिकांशलाई पैसा गएको कुरा थाहै थिएन।

‘खातावालाहरूलाई पनि बोलायौं। केहीले पैसा ट्रान्सफर भएको एसएमएस आएपछि तुरून्तै बैंकलाई खबर गर्नुभएको रहेछ। अधिकांशले मेसो नै पाएनछन्। के एसएमएस आयो भन्ने नै भेउ पाएनछन्,’ डिएसपी पंडितले भने।

योगेन र नन्दकिशोर यसअघि त्यस्तो गतिविधिमा संलग्न भएको नदेखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले बताए।

‘उनीहरुसँग त्यतिधेरै प्राविधिक ज्ञान भएको देखिएन। कोही ह्याकरले प्रयोग गरेजस्तो देखिएको छ। तर कसले प्रयोग गर्‍यो भन्ने अझै खुलेको छैन,’ ती प्रहरी अधिकृतले सेतोपाटीसँग भने, ‘यसको गहिराईसम्म पुग्ने प्रयत्न गरिरहेका छौं।’

डिएसपी पंडितले नारायणी डेभलपमेन्ट बैंक मोबाइल बैंकिङ प्रणालीमा जाँदै गर्दा ह्याकरले प्रणालीलाई कब्जामा लिएर कारोबार गरेको पाइएको बताए।

‘यो बैंक भर्खरै मोबाइल बैंकिङ प्रणालीमा जाँदै रहेछ। काम पुरा पनि भइसकेको रहेनछ। परीक्षण कालको मौका छोपेर प्रणाली नै ह्याक गरेर अरूको खातामा पहुँच पुर्‍याएको देखिन्छ,’ पंडितले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले मोबाइल बैंकिङ प्रणाली सुरू गर्दैगर्दा धेरै खाताबाट दुईवटा खातामा पैसा गएको र केही खातावालाले कसरी पैसा गयो भनेर फोन गरेपछि शंका लागेर प्रहरीलाई खबर गरिएको बताए।

‘हामीले चलाउन लागेको प्रणाली नै कमजोर त होइन। परीक्षणकोक्रममा रहेकाले यो अवस्थामा खाताहरूमा पहुँच पुर्‍याउन सकिन्छ कि भनेर गिरोह लागेको अनुमान गर्न सकिन्छ,’ पौडेल भन्छन्, ‘हामी चनाखो भएकाले बेलैमा थाहा पाउन सकियो। अन्य बैंक तथा वित्तीय संस्थाहरूमा पनि यस्ता घटना भएका छन्। त्यस्तै गिरोह यहाँ पनि लागेको हुनसक्छ। अब अनुसन्धान मुख्य गिरोह सम्म पुगेर उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता देखिन्छ।’

चितवन जिल्ला अदालतले साउन १४ गते योगेनकुमार विक र नन्दकिशोर कुमार यादवलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको थियो। यस्तो प्रकृतिको बैंकिङ कसुरमा २ देखि ३ वर्षसम्म कैदको सजाय हुने व्यवस्था छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले बैंकिङ कसुरसम्बन्धी घटनाहरु बढ्दै गएको बताए। विभिन्न तरिकाबाट अन्यको मोबाइल, सिमकार्डमार्फत खातामा पहुँच पुर्‍याएर पैसा निकालेका उजुरीहरू दिनहुँजसो आउने गरेको उनले बताए।

Nabintech