२२ बैशाख २०८१, शनिबार
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद


त्रिभुवन विमानस्थल परिसरबाट करिब एक क्विन्टल बराबर सुन बरामद भएको छ । अवैध तरिकाले ल्याइएको सुन बरामद भएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।

करिब एक क्विन्टल अनुमान गरिएको भए पनि ठ्याक्कै कति हो भन्ने बारेमा अहिले बताउन नसकिने विभाग स्रोतले जनाएको छ ।

क्याथे प्यासिफिक जहाजबाट उक्त सुन नेपाल आएको थियो । हङकङबाट चारदिन अघि नै उक्त सामान आएको र हिजो भन्सार पास भएको स्रोतले जानकारी दिएको छ ।

“१५ तारिखमा आएको रहेछ,” स्रोतले भन्यो, “हिजो बाहिर निस्कियो । १६० वटा ब्रेक प्याड हो । विशेष तरिकाले लुकाएर ल्याएको भन्ने छ । विशेष सूचनाका आधारमा आज बरामद गरिएको हो ।”

स्रोतले दिएको जानकारीअनुसार जम्मा १४५ केजी ब्रेक प्याडको कूल नेट वेट भएको छ । त्यसमा बढीजसो सुन रहेको देखिएको स्रोतले जानकारी दियो ।

नेपालमा बरामद भएको यो परिणाम अहिलेसम्मकै बढी हो । रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा उक्त सामान आयात भएको देखिएको स्रोतले जानकारी दियो । बरामद भएको सुन छुट्टयाएर तौल लिने काम जारी रहेकाले ठ्याक्कै परिणाम भन्न नसकिने स्रोतले जानकारी दियो ।

Nabintech