६ जेष्ठ २०८१, आईतवार
कोहलपुर खानेपानीमा भुसाल नेतृत्वको प्यालनको उम्मेद्वारी घोषणा


बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वकालागि नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेद्वारी घोषणा गरिएको छ ।

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणा सभाबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह–सचिवमा ईश्वर शर्मा, सह–कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वली, गंगा सापकोटा तथा चक्रदिप शाह छन् ।

अध्यक्षका उम्मेदवार भुुषालले कोहलपुर नगरभित्रको खानेपानी सम्बन्धीको दिर्घकालिन समस्या समाधानकालागि आफ्नो टिम लाग्ने बताउँदै जनतालाई सरल, सहज र नियमित रुपमा स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता सहितआफ्नो टिमलाई निर्वाचित गराउनका लागि अनुरोध गरे ।

करिब ५२ सय उपभोक्ता भएको कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन साउन महिनाभित्र हुने भएको छ ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले जनतालाई सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि सक्षम नेतृत्व आवश्यकता परेको बताए । उनले स्वच्छ, सफा र नियमित रुपमाखानेपानी कोहलपुरका जनताको घरदैलोमा पु¥याउन सक्षम यूवा टिमलाई बिजय गराउन कोहलपुर खानेपानीका उपभोक्ताहरुलाई अनुरोध गरेका हुन् ।काँग्रेस क्षेत्रीय सभापति पोषण केसीले भुषाल नेतृत्वको प्यानल सक्षम भएकाले पार्टीले सर्वसम्मत चयन गरेर निर्वाचनमा पठाएको बताए ।

क्षेत्रीय सभापति केसीको भनाइ थियो, यो टिमले अपेक्षित उपलब्धी प्राप्त गर्नेमा हामी ढुक्क छौं । केसीले खानेपानी जनताको जीवनसँग जोडिएको आधारभूत पक्ष भएकोले कोहलपुरका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने नेतृत्व भएकाले यो टिमलाई निर्वाचित गर्न सबैमा अनुरोध गरे ।

नगर सभापति बिरेन्द्रकुमार शाहले काँग्रेसको तर्फबाट उम्मेद्वार बनेकाहरुलाई निर्वाचित गराउनका लागि पार्टीका क्रियाशिल सदस्य, शुभेच्छुक संस्थालगायत कोहलपुर नगरका उपभोक्ताहरुलाई अनुरोध गरे ।

प्यानल घोषणा कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर खानेपानी संस्थाको टिमसँग स्थानीय सरकारले सहकार्य गरी कोहलपुरका जनतालाई स्वच्छ पानी उपलब्ध गराउने प्रतिद्धता जनाए ।

नेपाली काँग्रेस लुम्बिनीप्रदेश सदस्य अञ्जना पाण्डे, क्षेत्र नं. १ (ख)का सभापति बलराम शर्माले पार्टीबाट सर्वसम्मत निर्णय गरी तय गरेका उम्मेद्वारहरुलाई मैदानमा पठाएको बताए । जनताको घर–घरमा सहज, सरल तथा नियमित खानेपानी उपलब्ध, संस्थामा सुशासन, पारदर्शिताका लागि यूवा टिमलाई उठाएको उनीहरुको भनाइ थियो ।

Nabintech