नेपालगन्ज उद्योग वाणिज्य संघको साउन २० गते हुने निर्वाचन दुई प्यानल बिच प्रतिष्पर्धा हुने भएको छ । टंक सिंह धामी नेतृत्वको समावेशी प्यानल र ललित रौनियारको प्रजातान्त्रिक उद्योगी व्यवसायीको प्यानलबीच प्रतिस्पर्धा हुने बताईएको छ । दुबै प्यानलहरूले पूर्णता भने पाई सकेका छैनन् ।
विगत देखि समावेशी प्यानल बाट चुनावी प्रतिष्पर्धा गर्दै आई रहेको समुहबाट अध्यक्षमा प्रस्तावित टंक सिंह धामीले केही पदाधिकारीको टुंगो लागेको र केही छलफलका क्रममा रहेको जानकारी दिए । सबै हिसाबले समावेशी बनाएर टिम निर्माण गरिने जानकारी दिए । संघको निर्वाचनमा प्रभाव पार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले वाणिज्य उपाध्यक्ष र उपसचिव लगायतका पद लिएर धामी प्यानलसँग गठबन्धन गरेर जाने सहमति भएको बताईएको छ ।
जनता समाजवादी पार्टी निकट व्यवसायीलाई समावेशी प्यानलमा समावेश गराउन छलफल भई रहेको छ । धामी नेतृत्वको समावेशी समूहको उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली निश्चित छन् । उनी वर्तमान कार्यसमितिको महासचिव हुन् ।कार्यसमिति सदस्यसमेत रहेकी मन्दिरा पाण्डे महिला उपाध्यक्षको प्रमुख दाबेदार हुन् । महासचिवमा बासु भण्डारीको नाममा करिब करिब कुरा मिलिसकेको छ । वार्ता र संवादमै रहेका अध्यक्ष पदका उम्मेदवार धामीले आफूहरूको प्यानलमा सबै दलमा आस्था राख्ने व्यवसायीलाई समेट्ने गरिएको बताउँदै यस पटक पनि सोही अनुसार अगाडि बढेको बताए ।
विगतमा दामोदर आचार्य संरक्षक रहेको समावेशी समुहको अध्यक्षको भूमिकामा नेपालगन्ज अगुवा व्यवसायी ईश्वर पोख्रेल छन । सो समुहको संरक्षक आचार्य पत्नी पार्वती आचार्य लाई बनाइएको छ । पोख्रेल लगायत सोही समुह वाट यस अधि निर्वाचन जितेका हालका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना , निवर्तमान अध्यक्ष नन्द लाल वैश्य , अगुवा व्यवसायी बसन्त लामिछाने लगायतले समावेशी समुह बाट उम्मेदवार टुङ्गो लगाउन सबै पक्ष सँग छलफल गरि रहेका छन । सो समुह बाट हाल सम्म दामोदर आचार्य , नन्द लाल वैश्य , अब्दुल वाहिद मन्सुरी चन्ना लगायतले संघको नेतृत्व गरि सकेका छन ।
नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियारलाई अघि सारेको छ । नेकपा एमाले निकट व्यवसायीहरू पनि रौनियारसँग गठबन्धन गरेर जाने सहमति भएको एक व्यवसायीले जानकारी दिए ।
नेकपा एमाले निकट व्यवसायीहरूले सञ्जय अग्रवालको नेतृत्वमा प्यानल निर्माण गरी निर्वाचनमा होमिने निर्णय गरेका थिए । अचानक अग्रवालले अध्यक्ष पदको उम्मेदवारीबाट पछि हट्दै रौनियार प्यानलको उद्योगतर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेको बताईएको छ । अध्यक्षका प्रतिस्पर्धी रौनियारले अन्य पदहरूका विषयमा छलफल भएको बताउँदै केही दिनमै निष्कर्ष निस्किने बताए । सङ्घमा शुक्रबारसम्म दुई हजार दुई सयले नयाँ सदस्यता लिएका छन् भने एक हजार दुई सय ८१ जनाले नवीकरण गरेका छन् ।
निर्वाचनको मिति घोषणा गरिसकेका कारण नयाँ सदस्यता लिन रोकिएको छ । नवीकरण भने असार २७ गतेसम्म गर्न सकिने छ । अघिल्लो निर्वाचनमा तीन हजार तीन सय २५ जना जम्मा सदस्य रहेका थिए भने तीन हजार मत खसेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघले विधान संशोधन गर्दै पदाधिकारी चयन पहिलो पटक प्रत्यक्षरूपमा निर्वाचन गराउन लागेको छ ।