३ जेष्ठ २०८१, बिहीबार
गुणस्तरहीन सिमेन्ट बिक्रीको आरोपमा मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ


राजविराज /आपराधिक विश्वासघात मुद्दामा मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना फरार छन् ।

राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई तीन दिनअघि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्‍याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको छ । प्रहरी स्रोतका अनुसार उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी,प्रबन्ध निर्देशक अनुज राठी,मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी,डिलर सञ्जय साह,सिमेन्ट बिक्री वितरण गर्ने राजविराज २ का नरेश साहसहित अजयकुमार साह फरार रहेको सप्तरी प्रहरीले जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

गुणस्तरहीन सिमेन्टका कारण आफनो भर्‍याङ ढलेको तथा घर नै क्षतिग्रस्त भएको भन्दै राजविराज–४ का दिवाकर साहले बताए । स्रोतका अनुसार घरधनी साहले क्षतिपूर्तिको माग गरेपछि त्यसमा कुरा नमिल्दा उनी प्रहरीमार्फत मुद्दा प्रक्रियामा गएका हुन् ।

Nabintech