२० बैशाख २०८१, बिहीबार
कोहलपुर टाउनको सडक समस्या समाधान गर्न माग 


सडक निर्माण कार्यमा ढिलाई गर्दा व्यवसायीहरू समस्यामा परेको भन्दै कोहलपुरका व्यवसायीहरूले कोहलपुर नगर विकास समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।

कोहलपुर नगरपालिका भित्रको टाउन प्लानिङ्गका सडकहरूको स्तरोन्नति गर्ने क्रममा नाला निर्माण गरी सडक अस्तव्यस्त हुँदा सडक धुलाम्य र हिलाम्य भई व्यवसायीका सटर हरु बन्द गर्नु परेका कारण व्यवसाय धरापमा परेको भन्दै कोहलपुरका व्यवसायीहरूले बुधबार ज्ञापनपत्र बुझाई नगर विकासको ध्यानाकर्षण गराएका हुन ।

पटक पटक जानकारी गराउँदा समेत सम्बन्धित निकाय मौन बसी ठेकदारहरूलाई समेत ताकेता नगरेको पाइएको कारण नगर विकास समितिलाई उक्त ज्ञापन पत्र बुझाइएको व्यवसायी हेम बिक्रम जिसीले जानकारी दिए । साथै सम्बन्धित ठेकेदारहरू लाई उक्त काम गर्न  उनले आग्रह गरे । तिन दिन भित्र गुनासो सुनवाई नभएमा नगर विकास समितिको कार्यालयमा तालाबन्दी गर्न बाध्य हुने पनि उनले बताएका छन् । सोह्र जनाको हस्ताक्षर सहित बुधबार कोहलपुर नगर विकासमा ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझदै कोहलपुर नगर विकास समितिका इन्जिनियर विराज अर्यालले उनीहरूको माग छिट्टै सम्बोधन हुने बताएका छन । वर्षाको समयमा सकेसम्म काम छिटो सक्नु  पर्छ भन्ने नै हो तर विद्युत् पोलले गर्दा काम अस्तव्यस्त भएका कारण समयमा काम हुन नसकेको उनले बताए । अबको केही दिनमै कार्य सुरु गरी समस्याको समाधानमा लाग्ने तयारी रहेको उनले बताए ।

 

Nabintech