४ जेष्ठ २०८१, शुक्रबार
करोडौँको लागतमा बनेको कोहलपुर बसपार्कको ठेक्का लागेन


फोटो साभार : कोहलपुर ग्यालरी 

करोडौँको लागतमा निर्माण सम्पन्न भएको कोहलपुरको लामो दुरीको बसपार्क सञ्चालनमा आउन सकेन ।

सञ्चालनका लागी पटक पटक टेन्डर आवहान गरेको भएपनि पनि कुनै पनि व्यवसायीले सञ्चालनको जिम्मा लिन तयार छैनन् । सो बसपार्क निर्माण सम्पन्न भई सञ्चालनका लागी कोहलपुर नगर विकास समितिले हाल सम्म ४ पटक टेन्डर आवहान गरि सकेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले चौथो पटक ग्लोबल टेन्डर आवहान गर्दा पनि ठेक्का लाग्न नसकेको बताए । चौथो पटकको टेन्डर सकिन केही दिन बाँकी रहेको उनको भनाई छ ।

कोहलपुर नगर समितिले झण्डै ३० करोड लागतमा लामो दुरीको बसपार्क निर्माण गरेको हो । नगर विकास कोष मार्फत झण्डै २० करोड ऋण र १० करोड नगर विकास समितिको लगानीमा निर्माण सम्पन्न भई गत चैत्र महिनामा पहिलो पटक टेन्डर आवहान गरिएको थियो ।

समग्र व्यवस्थापन प्रवेश , टिकट काउन्टर , शौचालय र पार्किङ शुल्क भन्दै तुल्य अभिवृद्धिकर बाहेक प्रतिबर्ष न्यनतम मूल्य ९६ लाख ८६ हजार ४ सय राखेर टेन्डर आवहान गरिएको थियो । तर कुनैपनि व्यवसायी टेन्डर प्रक्रियामा सहभागी भएनन् । कोहलपुर ११ मा छोटो दुरीको बस पार्क चली रहेको छ ।कोहलपुर नगर विकास समितिले नै निर्माण गरेको सो बसपार्क बागेश्वरी यातायात प्रालिले टेस्टरमा सञ्चालन गरि रहेको छ । मासिक झण्डै २ लाख भाडा तिर्ने गरि सो बसपार्क सञ्चालनमा छ ।

बागेश्वरी यातायात प्रालिका महासचिव टक बस्यालले टेन्डर रकम बढि भएकाले व्यवसायीले हात हाल्ने अवस्था नरहेको बताए । उनले एक बसपार्क सञ्चालन भई रहेको अवस्थामा अर्को बसपार्क सञ्चालन हुने अवस्था समेत नरहेको बताए । ३ वर्ष अघि मात्रै करोडौँको लागतमा निर्मित छोटो दुरीको बसपार्क सञ्चालनमा छ । कोहलपुरका एक स्थानीयले बसपार्क कहिले सञ्चालनमा आउने भन्ने टुंगो नलागेको बताए ।

उनले दैनिक युवा युवतीहरूले समाजिक सञ्जालमा टिक टक बनाउनका लागी आउने गरेको प्रतिकृया दिए । बसपार्क सञ्चालनमा आउने भन्दै व्यवसाय गर्न सो स्थानमा सटर भाडामा समेत लिएका उनले बसपार्क सञ्चालनमा नआउँदा आफूहरू मर्कामा परेको बताए ।

Nabintech