२२ बैशाख २०८१, शनिबार
जीवन ज्योति स्कुल कोहलपुरको अत्याधुनिक प्लस टु भवन शिलान्यास


कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको जीवन ज्योति स्कुलले बिहीवार अत्याधुनिक प्लस टु भवनको शिलान्यास गरेको छ ।

नेपाल क्याथोलिक परिषद्का अध्यक्ष डा. पल सिमिकले भवनको शिलान्यास गरेका हुन् । उनले तत्कालीन मध्य तथा सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाका लागी सो भवन बनाउन लागेको र त्यसका लागी क्याथोलिक परिषद्ले सहयोग गरेको बताए । ४ तले सो भवनमा अत्याधुनिक  साइन्स ल्याब सहितका २० कोठा निर्माण गरिने स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले बताए । अत्याधुनिक सो भवन सुविधा सम्पन्न र शिक्षा मैत्री हुने  उनले बताए ।

निर्माणका लागी झण्डै ४ करोड लागत अनुमान गरिएको उनको भनाई छ । जीवन ज्योति स्कुलले आगामी शैक्षिक सत्र देखी प्लस टु कक्षा सञ्चालन गर्दैछ । यस बिच जीवन ज्योति स्कुलले शैक्षिक क्षेत्रको विकासका लागी सरोकारवाला र अभिभावक समितिका सदस्यहरू बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । जीवन ज्योति स्कुलमा आयोजित अन्तरक्रियामा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना , कोहलपुर नगर पालिका उप प्रमुख संगीता सुवेदी , कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमका बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले जीवन ज्योति यस क्षेत्रको शैक्षिक विकल्प बन्नु पर्ने बताइन ।

उनले पूर्वाधार र गुणस्तरीयता ध्यान दिन आग्रह गरिन । प्रदेश सरकारले शिक्षा र स्वास्थ्य लाई प्राथमिकतामा राखेको भन्दै पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा माफिया हाबी रहेको भन्दै त्यसले यस क्षेत्रको प्रगतिको बाधक रहेको बताइन । कार्यक्रममा बोल्दै उनले अबको शिक्षा व्यवहारिक सीपमुलक र प्रविधियुक्त हुनु पर्ने बताएकी हुन् ।

यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकि उपप्रमुख संगीता सुबेदीले जीवनज्योति स्कुल कोहलपुरको नयाँ पहिचान भएको बताइन । उनले स्थानीय सरकारले गर्नु पर्ने सहयोगमा कहिँ कतै कमी नहुने बताएकी छिन् । उनले कोहलपुर नगरपालिकाले गुणस्तरीय शिक्षा अनि स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताएकी छिन् ।

यस्तै नेपाल क्याथोलिक परिषद्का अध्यक्ष डा. पल सिमिक ले  स्थानियको साथ सहयोग पाएकाले जीवन ज्योति स्कुल कोहलपुरलाई सहयोग बढाउदै लगेको बताए । उनले आफ्नो संस्थाले विशुद्ध शिक्षाको गुणस्तर बढाउने र असल विद्यार्थी उत्पादन गर्ने उद्देश्य रहेको बताए । आफ्नो संस्थाले नेपालभर ७२ वर्षको अवधिमा झण्डै ४ दर्जन बिभिन्न तहका स्कुल र कलेजहरू स्थापना गरेको बताए ।

पश्चिम नेपालका लागी जीवन ज्योति लाई आगाडि ल्याउन खोजिएको उनको भनाई थियो । उनले आफूहरूको सहयोग पूर्ण सदुपयोग भएको भन्दै विद्यालय प्रशासन टिम , शिक्षक अभिभावक र फादर जोमन जेम्स लाई धन्यवाद समेत दिए । यस्तै कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमालले जीवन ज्योति स्कुल लगायत सबै स्कूलहरू लाई समान नजर हेरेको भन्दै कोहलपुर क्षेत्रमा जीवन ज्योति स्कुल उत्कृष्ट रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले जीवन ज्योति स्कुलले प्राविधिक शिक्षामा जोड दिने बताए । कार्यक्रममा अभिभावकहरू डिल्ली बि. सि. , बल बहादुर खड्का ,हरि तिवारी , यादव राज खड्का, कुस्माखर बस्याल, सुवास गिरी लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न साङ्गितिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो । ।

Nabintech