१४ बैशाख २०८१, शुक्रबार
बजेटमा परेन कोहलपुरको महिला क्रिकेट एकेडेमी र अन्तराष्ट्रिय क्रिकेट मैदान


सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कोहलपुरमा निर्माण गरिने भनेको अन्तराष्ट्रिय क्रिकेट मैदान प्राथमिकतामा परेन । क्रिकेट मैदान निर्माणका लागी भनेर जमिन छुट्याएको झण्डै २० वर्ष पुगिसक्दा समेत आधारभुत संरचना निर्माण हुन नसकेको हो ।

सरकारले देशभर ४ स्थानमा क्रिकेट मैदान बनाउने घोषणा गरेको भएपनि कोहलपुरको क्रिकेट मैदान बजेटमा समेटिएन । 

प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान अलपत्र

घोषणा गरेको २० वर्ष पुग्नै लाग्दा सम्म पनि बाँकेको कोहलपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान अलपत्र अवस्थामा छ । भौतिक पूर्वाधार निर्माणका लागि हरेक वर्ष केही न केही बजेट विनियोजन हुँदै आएको भएपनि विनियोजित बजेट बर्सेनी फ्रिज हुने गरेको छ । २०६१ सालमा नेपाल क्रिकेट संघ क्यानले कोहलपुरमा अन्तराष्ट्रिय स्तरका क्रिकेट मैदान निर्माणका लागी कोहलपुर नगर विकास समिति सँग जग्गा उपलब्ध गराई दिन आग्रह गदै पत्राचार गरेको थियो ।
लगतै कोहलपुर नगर विकास समितिको बोर्ड बैठकले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि ४ बिघा १९ कट्ठा जग्गा छुट्याएको थियो । तर घोषणाका २० वर्ष पुगी सक्दा समेत क्रिकेट मैदानका लागी आवश्यक न्यनतम पूर्वाधार निर्माण हुन सकेको छैन भने हाल सम्म १ ओटा पनि राष्ट्रिय खेल सञ्चालन भएको छैन ।
प्रतियोगिताका सञ्चालनका लागि ९० फिट लम्बाइ र ३० फिट चौडाइ क्षेत्रफलको पक्की पिच आवश्यक पर्ने भएकाले यसै वर्ष सम्पन्न गर्ने गरि काम सुरु गरिएको छ । यस बाहेक मैदानका लागि बिभिन्न चरणमा गर्नुपर्ने सोलिङ गर्ने, माटो पाट्ने, लेबल मिलाउने, घाँस उमार्ने लगायतका कार्यहरू बाँकी नै छ । यस वर्ष सरकारले कोहलपुरमा महिला क्रिकेट एकेडेमी र अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागी ३ करोड बजेट बिनियोजन गरेको थियो । यसै आर्थिक वर्षमा सक्ने गरि ठेक्का आवहान गरिएको भएपनि हाल सम्म काम सुरु नहुदाँ फेरी पनि बजेट फिज हुनेमा कुनै शंका छैन ।
कोहलपुरका स्थानीयवासी , क्रिकेटका पुर्व राष्ट्रिय कप्तान र हालका रािष्ट्रय खेलकुद परिषदका सदस्य लेख बहादुर क्षेत्रीले क्रिकेट मैदान निर्माणले गति लिन नसकेको स्वीकार गरे । उनले सरोकारवालाको चासो कम भएका कारण पूर्वाधार निर्माणमा ढिलाई भएको बताए । उनले यस अघि क्रिकेट मैदानको जग्गा भोगचलन विवादका कारण सरकारले छुट्याउने गरेको बजेट खर्च नभएको भएपनि हाल सो विवाद समाधान भएको बताए । जग्गा स्वामित्व विवादले विगतमा भौतिक निर्माणका काम हुन नपाएको भएपनि हाल सो विवाद समाधान भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालको भनाई छ  । ‘खेल मैदानको जग्गाको स्वामित्व जिल्ला खेलकुद समिति, नगरपालिका या राष्ट्रिय खेलकुद परिषद्को हुने भन्ने विवादले निर्माणको काम रोकिएको थियो ,’ उनले राष्ट्रिय खेलकुद परिषद्का नाममा जग्गा स्वामित्व दिने गरी सिफारिस पठाएपछि जग्गा विवाद समाधान भएको जानकारी दिए । विगतमा बाँकेमा क्रिकेटका अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन भए पनि खेल मैदान नहुनु लाजको विषय भएको सदस्य क्षेत्री बताउँछन  । सन २००४ मा बाँकेबाटै महिला क्रिकेटको सुरुवात भई यहाँका महिला क्रिकेटरले अन्तर्राष्ट्रियस्तरको उपाधि जितिसकेका छन । कुनै समय महिला राष्ट्रिय क्रिकेट टोलीमा बाँकेका कप्तान नेरी थापा सहित ७ खेलाडी सहभागी भएपनि अहिले सुस्ताउँदो अवस्थामा रहेको उनको भनाई छ । खेल मैदान र नियमित प्रतियोगिता नहुनु मुख्य कारण नयाँ खेलाडी उत्पादन नभएको उनको बुझाई रहेको छ ।
क्षेत्रीले मैदानको बाहिरी घेरामा पर्खाल लगायतको संरचना निर्माण गरिएको भएपनि आधारभुत संरचना निर्माण गर्न नसकिएको बताए ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले केन्द्रले गरेको बजेट बिनियोजन र त्यसको कार्यन्वयनको अवस्था बारे आफूहरू जानकार नै नरहेको बताए । उनले मैदानमा पक्की पिच निर्माणका लागी पालिकाले १० लाख बजेट बिनियोजन गरेको जानकारी दिए । उनले एक राष्ट्रिय स्तरको खेल आयोजना गर्नका लागी थप २० लाख बजेट बिनियोजन गरेको र सो बारे सम्वद्ध पक्ष सँग कुरा भई रहेको बताए । स्थानीय सरकारको प्राथमिकतामा भए पनि सो मैदान निर्माणका लागी संघीय बजेट आवश्यक पर्ने भन्दै प्रमुख आचार्यले केन्द्र सरकार सँग समन्वयको प्रयास भई रहेको बताए ।
उनले क्रिकेट मैदान निर्माण गौरवको योजना अन्र्तगत राखेर काम गरिने समेत जानकारी दिए । १० हजार दर्शक अट्ने प्याराफिट सहितको क्रिकेट मैदानको डि पि आर बनाइएको भएपनि एक शौचालय र ड्रेसिङ रुम मात्रै निर्माण गरिएको राष्ट्रिय टिमका पूर्व कप्तान क्षेत्रीले बताए । उनले निवर्तमान युवा तथा खेलकुद मन्त्री एवं यसै क्षेत्रका सांसद समेत रहेका महेश्वर जंग गहतराज अथकले महिला क्रिकेट एकेडेमी निर्माणको घोषण गरेको भएपनि प्रगति शून्य हुँदा थप निराशा छाएको उनको भनाई छ । पूर्व मन्त्रीले पहिलो निर्णयमा कोहलपुरमा महिला क्रिकेट एकेडेमी र क्रिकेट मैदान निर्माण गर्ने निर्णय गर्दा आशा थपिएको थियो , कार्यान्वयन पक्ष फितलो हुँदा निराशा थपिएको छ उनले भने ।
जिल्लाकै मन्त्रि हुँदा गति नलिएको आयोजनाले अब के गति लेला उनको प्रति प्रश्न गरे । सवा अरब लगानीमा निर्माण गरिने महिला क्रिकेट एकेडेमी र क्रिकेट मैदानको डिपिआर पुरा भएको खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए । उनले यस वर्ष काम सक्ने गरी पूर्वाधार निर्माणका लागी टेन्डर आवहान गरिएको जानकारी दिए । तर आर्थिक वर्ष सकिन १ महिना मात्रै बाँकी रहँदा गरिएको टेन्डर आवहानले पुन बजेट फ्रिज हुने स्थानियको भनाई छ ।

Nabintech