१६ चैत्र २०८०, शुक्रबार
गणतन्त्र दिवसमा खजुरामा बृहत कार्यक्रम


१६ औ गणतन्त्र दिवसको उपलक्ष्यमा खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरि मनाएको छ । गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौं भन्ने मुल नाराका साथ १६ औ गणतन्त्र दिवसको उपलक्ष्यमा खजुरा गाउँपालिकाले प्रभातफेरीको आयोजना गरेको थियो ।

खजुराका राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु सहित बाक्लो उपस्तिथि रहेको र्याली धनौलीमा रहेको सहिद सेतु बिकको सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बाेल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएकाले सम्पुर्ण जनताले यसबाट परिवर्तन महसुस गर्नुपर्ने बताएका छन् ।

‘जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुने छैन,’ अध्यक्ष बिकले बताए । गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई अझ बढी संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न खजुरा गाँउपालिकाले योजनागत कार्यक्रम लिएर अगाडि बढ्ने अध्यक्ष बिकले बताएका थिए ।

Nabintech