१४ बैशाख २०८१, शुक्रबार
पहिचान र अधिकारको आन्दोलन लाई निष्कर्षमा पुर्याउनु पर्छ  : रेशम चौधरी 


नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं हालै सरकारले आममाफी दिएपछि रिहा भएका रेशम चौधरीले पहिचान र अधिकारको आन्दोलन लाई निष्कर्षमा पुर्याउने बताएका छन ।

रिहा भएपछि पहिलो पटक बाँकेको कोहलपुरमा औपचारिक सम्बोधन गरेका चौधरीले अधिकार र पहिचानको आन्दोलनमा केही घुसपैठ भएको समेत बताए । आन्दोलनमा घुसपैठ गरि साम्प्रदायिक बिथोल्ने प्रयास भएको भन्दै उनले आफूहरू सखिया नाच नाच्न पहाडी समुदायको आँगनमा  जाने र सो समुदाय पनि भैली खेल्न थारू समुदायको आउने गरि सदभाव कायम गरिनु पर्ने बताए ।

उनले आफू जेल बाट रिहा भए लगतै मिसन ८४ सुरु गरेको बताउँदै २०८४ मा आफ्नो दल ठुलो दल बन्ने पनि दाबी गरे । आफू कमैयाको छोरो भएको भन्दै उनले संघीय सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण भूमिहीन तथा सुकुम्बासी लाई जग्गाको मालिक बनाउने समेत दाबी गरे । रिहा भए लगतै कैलाली जानका लागी बाँके विमानस्थल आई पुगेका उनलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए । कोहलपुरमा पहिलो सम्बोधन गरेका उनले बर्दिया बाँसगढीमा आयोजित सभा लाई सम्बोधन गरेर आजै कैलाली पुग्ने बताईएको छ ।

समर्थकहरू खुसी

कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी देखिएका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आई आफ्ना समर्थकहरूसँग भेट गरेका छन्। माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरूको भिड देखिन्थ्यो।

स्वागत र समर्थनमा माइतीघर मण्डला पुगेका देवराज लामाले टीकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए। देवराज लामाले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उनले अहिलेसम्म पनि टीकापुर घटनाका वास्तविक दोषीहरूलाई पक्राउ नगरिएको बताए। उनले आफूहरू अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे। उनले भने, ‘टीकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको छ। उहाँ घटनास्थलमा हुनुहुँदैन थियो। उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म पनि टीकापुर घटनाका दोषीहरू समातिएका छैनन्।

अहिले पनि छानबिन गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाइका आयोगहरूको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ। उहाँ निर्दोष हुनुहुन्छ।’ समर्थकहरूले विरोधका लागि विरोध गर्ने संस्कृति बढिरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए। रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए।

Nabintech