बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको छ ।
खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि २ दिन सीमा नाका बन्द गर्ने गरिने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जानकारी प्राप्त भएको जनाउँदै आफूहरूले सोही बमोजिम गर्ने इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो ।
नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार काम गर्ने जनाएका छन् । सीमा शील गरिएको अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच बनेको छ ।
खुला सीमाका कारण साइड नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको छ ।
यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ ।