१४ बैशाख २०८१, शुक्रबार
५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक


नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको छ। गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

सोमबार पाठ्यपुस्तक बिक्री–वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केन्द्रमा अनुगमन गरेको छ। अनुगमनपश्चात् केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए। उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयमा पाठ्यपुस्तक पुगेको जानकारी दिए।

उनका अनुसार केन्द्रले कक्षा ६ देखि कक्षा १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तक छपाइको काम सम्पन्न गरी बिक्री–वितरण गरिरहेको छ। केही स्थानमा ढुवानीको क्रममा रहेकाले तीन दिनभित्र पुस्तक पुगिसक्ने स्पष्ट पार्दै उनले बाँकी १८ जिल्लामा वैशाख १५ सम्म पुस्तक पुग्ने बताए।

पुस्तक छपाइ गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयमा पुस्तक पुर्‍याउन सफल भएको झाको भनाइ छ।

‘मेसिनको संख्या दुई थियो, तीन थप्दा पाँचवटा भयो । ८० हजार प्रतिदिन छपाइ क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन दुई लाख ४० हजार छपाइ गर्ने क्षमतामा पुगेका छौँ । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रूपमा मेसिन सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि थप सहज भयो।’

Nabintech