७ बैशाख २०८१, शुक्रबार
घरेलुहिंसा पीडित गंगा विकलाई कोहलपुर नगरपालिकाको सहयोग


कोहलपुर नगरपालिका २ शक्तिनगरकी घरेलुहिंसा पीडित गंगा विकलाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । घटनामा गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो ।

कोहलपुर नगरपालिकाले हिंसा पीडित राहात कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो । आईतबार एक कार्यक्रमकाबीच नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगिता सुवेदी, वडा नं। २ का वडा अध्यक्ष हरिसिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहात कोषबाट आर्थिक सहायता गरिएको बताईन । उनले गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आह्वान समेत गरीन ।

उनले घरेलु हिंसा विरुद्ध नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाउने बताईन । कुनै पनि महिला हिंसाको सिकार हुन नपरोस् भन्ने सवालमा नगरपालिका गम्भीर रहेकाले यसबारेमा चेतना फैलाउन जरुरी रहेको समेत उल्लेख गरीन ।

यस्तै वडा अध्यक्ष हरिसिंह कठायतले घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गरे । गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको भन्दै उनले यस्ता हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको बताए । यस्तै कार्यपालिका सदस्य इश्वरी विकले यस्ता जधन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताए । घटना हुनै नदिने गरी समाजमा अग्रीम बहस चलाउन आवश्यकता रहेको समेत उनको भनाई थियो ।

गंगाका पति भानुभक्त अहिले पूर्पक्षका लागि कारागारमा छन् । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका थिए ।

Nabintech