५ जेष्ठ २०८१, शनिबार
भर्नाअघि नै विकट हिमाली जिल्ला पुग्यो पाठ्यपुस्तक


समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्लाहरुमा समेत यसवर्ष समयमा नै पुस्तक पुगेको छ। भर्ना मात्रै होइन, परीक्षा सञ्चालन हुँदा समेत पुस्तकको संकट झेलिरहेका हुम्ला, डोल्पा, जुम्ला, मुगुलगायतका जिल्लामा यसपटक भने भर्ना अभियान शुरु हुनु अघि नै पुस्तक पुगेका हुन्।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यक्रम विकास केन्द्रमार्फत नीजि छापाखानाहरुले प्रकाशन गरेका पुस्तक नेपालका सबैजसो विकट जिल्लामा समयमा नै पुगेका छन्।

हुम्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन कदिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ । योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ।

ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याउने जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए। उनका अनुसार नयाँ शैक्षिक सत्र सुरु नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन।

सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए। नेपालगञ्जबाट गाडीमार्फत ढुवानी गरेर जिल्लामा पुर्याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उनको गुनासो थियो।

पालिकाले पाठ्यपुस्तक खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक सम्बन्धित विद्यालयमा पुर्याएको शाहीको भनाइ थियो। पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका पुस्तक डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गरे।

पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन्।

पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट पुस्तक लैजान सकिने शाहीको भनाइ थियो। यी चार पालिकामा पैदल मार्गमार्फत केही दिनअघि पुस्तक पुगिसकेका छन्। कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिए।

यो वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने

हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैँ पाठ्यपुस्तकको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन्।

कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरु भएसँगै पुस्तक पाउने भएका हुन्। हुम्लाका चार गाउँपालिकामा पुस्तक पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिबारदेखि ढुवानी सुरु हुदैँछ।

यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र बैशाखदेखि सुरु हुने गरेको छ। कोरोना महामारीका समयमा पठनपाठनमा समस्या भएपछि यहाँका स्थानीय तहले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन्।

तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र मङ्सिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए। कोरोना सङ्क्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न थालिएको मानसरोवर उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए।

Nabintech