६ जेष्ठ २०८१, आईतवार
नरैनापुरमा बोर्डर आउट पोस्टको शुभारम्भ 


बाँकेको नरैनापुर गाउँपालिका ६ गङ्गापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको शुभारम्भ भएको छ।  ५ नं बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति बिदुर खड्का र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा सो भवनको शुभारम्भ गर्नुभयो ।  

बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको उल्लेख गर्दै मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशील भई काम गर्ने बताउनुभयो ।  

नागरिकको सुरक्षाका लागि सुरक्षाकर्मीलाई बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोस्टको स्थापना गरिएको उहाँको भनाई थियो । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताउँदै बाहिनीपति खड्काले ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीसँगै  नागरिकको पनि दायित्व भएको बताउनुभयो ।  नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले सशस्त्र द्वन्द्वको परिस्थितिमा पनि  मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै  विपद्का वेला उद्धार सङ्क्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । अध्यक्ष शाहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निगरानीले चोरी तस्करी कम भएको बताउँदै सीमा क्षेत्रमा हुने अवैध ओसारपसार पनि रोकिएको छ उल्लेख गर्नुभयो । 

Nabintech