१३ बैशाख २०८१, बिहीबार
प्रचण्डले ‘समिट फर डेमोक्रेसी’ मा भिडियो सम्बोधन गर्ने


अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी २०२३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिडियो सम्बोधन गर्ने भएका छन् ।

मंगलबारदेखि दुई दिनसम्म चल्ने सम्मेलनमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बोधनको रेकर्डेड भिडियो पठाइसकेको छ । मंगलबार समिटमा त्यसको प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डको भिडियो सम्बोधनमा नेपालको मानवअधिकारको अवस्था र लोकतन्त्रका लागि सरकारले चालिरहेका पहलबारे बोल्ने जनाइएको छ ।

अमेरिकाले यो सम्मेलन कोस्टारिका, नेदरल्याण्डस, दक्षिण कोरिया र जाम्बियासँग मिलेर आयोजना गर्दैछ । यसअघि ९ र १० डिसेम्बर २०२१ मा राष्ट्रपति बाइडेनले पहिलोपटक ‘समिट फर डेमोक्रेसी’ को आयोजना गरेका थिए । उक्त सम्मेलनमा नेपालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भर्चुअल माध्यमबाट नै सहभागी भएका थिए ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै गत १५ र १६ माघमा नेपालको दुई दिने भ्रमण गरेकी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समिटमा नेपालबाट उच्चस्तरीय सहभागिताको विषयमा छलफल गरेकी थिइन् ।

त्यसको केही समयपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले पनि प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएको थियो ।

समिट फर डेमोक्रेसी अमेरिकी राष्ट्रपति बाइडेनको व्यक्तिगत इच्छा र पहलमा सुरु गरिएको हो, ‘समिट फर डेमोक्रेसी’ । अमेरिकाले विश्वभर लोकतन्त्र स्थापना र कार्यान्वयन तथा मानवअधिकार संरक्षण गर्ने दाबीसहित यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसपटक अमेरिकाले १२० वटा मुलुकलाई समिटमा सहभागी हुन निम्तो दिएको छ । अघिल्लोपटक सहभागी नभएका बोस्निया, हेर्जेगोभिना, जाम्बिया, होन्डुरस, आइभरी कोस्ट, मौरिटानिया, मोजाम्बिक, तान्जानिया, र लिन्चेस्टिनलाई पनि आमन्त्रण गरेको छ । तर अमेरिकी सैन्य संगठन नाटोमा आवद्ध टर्की र हंगेरीलाई भने यसपटक निम्तो गरिएको छैन ।

Nabintech