१५ चैत्र २०८०, बिहीबार
नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु हुन्छ : मन्त्री भण्डारी


कोहलपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बाँकेको बैजनाथमा औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु गर्ने बताउनुभएको छ । सो क्षेत्रको मंगलबार अनुगमन निरीक्षण गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“अब विलम्ब नगरी औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइनेछ,” मन्त्री भण्डारीले भन्नुभयो, “मानव बस्ती व्यवस्थापन गरेर एक महिनाभित्र टेण्डर आव्हान गरिनेछ ।” मन्त्री भण्डारीले हालको डीपीआरमा थोरै संशोधन गरी निर्माण काम अघि बढाइने जानकारी दिनुभयो ।

हाल सुकुम्वासीले वर्षौँदेखि प्रयोग गरिरहेको जग्गा उनीहरूलाई नै भोगचलन गर्न दिएर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने मन्त्री भण्डारीको भनाइ छ । नौवस्ता औद्योगिक क्षेत्र निर्माणका लागि मन्त्रालयसँग बजेट उपलब्ध रहेको भन्दै उहाँले राजनीतिक दल, जनप्रतिनिधि, प्रतिनिधि सभा तथा प्रदेशसभाका सांसद, स्थानीय सरकार र स्थानीय बासिन्दा सबैको साथ र सहयोगको आवश्यकतामा जोड दिनुभयो ।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि बस्तीलगायतका कारण पछि ३३८ बिघामा निर्माण कार्य अघि बढाउने भनिएको थियो । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो ।

सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद रत्न खत्रीले मानव बस्तीलाई व्यवस्थापन गरी औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय बासिन्दा तयार रहेको बताउनुभयो । नौवस्तामा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि २५० जना उद्योगी व्यवसायीले आवेदन दिनुभएको छ ।

मन्त्री भण्डारीले मङ्गलबार नै बाँकेको कोहलपुर क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिक दलका नेता लगायतसँग भेटघाट गर्दै आर्थिक विकास र समृद्धिका लागि सरकारले निजी क्षेत्रबाट पर्याप्त साथ पाइरहेको बताउनुभयो । यसैबीच नौवस्ता औद्योगिक क्षेत्रमा बस्ती व्यवस्थापनका लागि १०८ बिघा जग्गा आवश्यक पर्ने स्थानीय बासिन्दाको तर्फबाट माग गरिएको छ ।

३३८ बिघा जमिनमध्ये सशस्त्र प्रहरीलाई २० र क्षेत्रीय कारागारलाई १० बिघा यसअघि नै दिइसकिएका कारण १०८ बिघा जमिन स्थानीयलाई छुट्याउने हो भने औद्योगिक क्षेत्र निर्माण हुन नसक्ने भएकाले मन्त्री भण्डारीले औद्योगिक क्षेत्र निर्माण हुन सक्नेगरी बस्ती व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।

Nabintech