१३ बैशाख २०८१, बिहीबार
उपप्रधानमन्त्री श्रेष्ठद्वारा नारायणगढ-बुटवल सडक खण्डको अनुगमन


काठमाडौं/ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्ड, छ लेन सडक बिस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ। चाइनिज व्यबसायीक कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले ठेक्का पाएको एकसय १४ कीलोमीटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भैसक्नुपर्ने थियो। हाल एकबर्ष समय थप भएपनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नुपरेको यथार्थबीच उपप्रधानमन्त्री आफैंले निर्माण प्रगतिबारे स्थलगत चासो लिनुभएको हो।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजङ्ग थापा र आयोजना प्रमुखहरूलाई साथमै लिएर निरीक्षणमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको कार्यालय, गैंडाकोट पुगी निर्माण कम्पनीका प्रतिनिधिसङ्ग योजना सुस्तताको कारणबारे प्रश्न गर्नुभएको थियो। कम्पनीका प्रतिनिधिले खानेपानी, विद्युत, ढल, कोभिड, क्रसर व्यबसायीका समस्या जस्ता औपचारिक कारण देखाएपनि अब कामले द्रुततर र गुणस्तरीय गति लिनेगरी अगाडि बढ्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिनुभयो।
‘समस्या के हो प्रष्ट भन्नुस्, अब कुनैपनि बहानामा आलटाल स्वीकार्य हुँदैन।’ त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो- ‘आर्थिक, सामाजिक गुणात्मक बिकास र समृद्धिका लागि हामी परम्परागत होइन, गतिशील ढङ्गले काम गर्न खोजिरहेका छौं। यसका लागि तपाईंहरूको सकारात्मक सहयोग हुनुपर्छ।’ कम्पनीका प्रतिनिधिले समयसीमामै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

Nabintech