८ बैशाख २०८१, शनिबार
कसैको हस्तक्षेप नस्वीकार्ने भन्दै ओलीले भने– यो सरकार नेपालीले बलजफ्ती बनाएका हुन्


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको बताएका छन्।

शनिबार एमालेका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले यो सरकारलाई उपयुक्त ढंगले गाइड गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका हुन्।

‘यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो। यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं। यो सरकारलाई हामी उपयुक्त ढंगले गाइड गर्न चाहन्छौं। यसले सही नीति लेओस्। यस सरकारले भ्रष्टाचार नगरोस्। भ्रष्टाचार नसहोस्। यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस्। सक्रियतापूर्वक अघि बढोस्। हामी त्यो चाहन्छौं’ ओलीले भने।

बाह्य हस्तक्षेप स्वीकार गर्न नसकिने भन्दै ओलीले यसपटक नेपालीले नै सरकार बनाएर सफलता प्राप्त गरेको बताए। ‘हामीले यो सफलता प्राप्त गरेका छौं। नेपालीलाई बनाउन नदिने चाँजोपाँचो थियो। यो ज्यादै ठूलो उपलब्धी हो।’ ओलीले भने। साथै, सरकारलाई फेरफार गर्न सकिन्छ कि भनेर बाह्य शक्ति लागिरहेको आरोप लगाए।

‘अहिले पनि हाम्रा मित्रहरु ढोकाबाट होइन कम्पाउन्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छरु यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं, यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन।’

अहिले कूटनीतिक गतिविधि बढेको भन्दै ओलीले यस्ता क्रियाकलाप बन्द गर्न र सार्वभौम सिद्धान्त अनुसार चल्न छिमेकी र मित्रराष्ट्रहरूलाई आग्रह समेत गरे।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘वी विल कम ब्याक’ भन्दै सरकार ढाल्ने प्रयास गरिरहेको भन्दै ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास धेरै भइरहेको छ। मााननीय सभापति शेरबहादुर देउवाले भन्नुभयो, वी वील कम ब्याप। हि डजन्ट डन्ट होएन दे कम ब्याकरु,’ उनले भने, ‘संकेत उहाँहरुले २६ गते नै ढाल्छौं र आउँछौं भन्नुभयो। उहाँहरु यस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुृसमा विश्वासको मत लिँदैछन्। उनले सबै सांसदहरु समयमै बैठकमा हाजिर भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिए।

‘पर्सि २६ गते प्रतिनिधि सभाका सदस्य साथीहरु बैठकमा समयमा हाजिर हुने र मतदान गर्ने प्रतिनिधि सभामा प्रधानमन्त्री माथि विश्वास छ भन्ने कुरालाई बहुमतले पुष्टि गर्नु पर्दछ। यस काममा हामी केन्द्रित छौं।’

Nabintech