७ बैशाख २०८१, शुक्रबार
महासंघ बाँकेको साधारण सभा सम्पन्न , दुई दर्जनलाई सम्मान र पुरस्कार


नेपालगन्ज /पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रता प्रजातन्त्रको मेरुदण्ड भएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको १३ औँ साधारण सभालाई शनिवार नेपालगन्जमा सम्बोधन गर्दैअध्यक्ष पोख्रेलले प्रेसमाथि अंकुश लगाउन खोजिए मान्य नहुने स्पष्ट पारे ।
प्रजातन्त्र र लोकतन्त्रका लागि पत्रकारले अहम भूमिका खेलेको बताउँदै उनले प्रेस स्वतन्त्रतामाथि उदार हुन सरकारसँग आग्रह गरे । उनले लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गर्नुपर्ने बताए । ठूला मिडिया हाउसले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको धारणा राखे ।
उनले निर्मम भएर सदस्यता शुद्धिकरणको निर्णय लिनुपर्ने बेला आएको बताउँदै उनले बाँके शाखालाई विधानको परिधि भित्र रहेर दृढ इच्छाशक्तिका साथ निर्णय लिन निर्देशन दिए । ‘सदस्यता प्राप्ति र नविकरणको अधिकार विधानले शाखाहरुलाई नै दिएको छ । आवश्यक परे दृढ निर्णय लिएर शुद्धिकरणका लागि अघि बढ्नुस्,’ अध्यक्ष पोख्रेलले भने, ‘पत्रकारहरुले विश्वसनियता अभिबृद्धि गर्ने गरी काम गर्न जरुरी छ ।’
शाखा अध्यक्ष दामोदर भण्डारीको अध्यक्षमा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महाँसघ प्रदेश सचिव एंव प्रेस सेन्टरका केन्द्रिय सदस्य शिव सुनार ,नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्षहरु प्रेम केसी, लियाकत अली, रुद्र सुवेदी, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकासराज न्यौपाने, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, प्रेस स्वतन्त्रता सेनानी नरेन्द्रजंग पिटर, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशील पत्रकार संघका अध्यक्ष तिलक गाउँले, पुरस्कार छनौट समितिका संयोजक एवम् पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष हेमन्त कर्माचार्य लगायतले बोलेका थिए ।

दुई दर्जनलाई सम्मान र पुरस्कार
साधारणसभामा दुई दर्जन पत्रकार र विभिन्न व्यक्तिलाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको थियो । कोभिड महामारीमा पत्रकारहरुलाई स्वास्थ्य सेवा एवम् परामर्श प्रदान गरेका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.सुभाष योगीलाई सम्मान गरिएको छ । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाका स्वास्थ्य परामर्शदाता समेत हुन् । यस्तै बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार प्रेम केसी सम्मानित भएका छन् ।
विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार मिसन टुडे दैनिक, जी नेपाल टेलिभिजन र विनोेद गौतमलाई प्रदान गरिएको छ । यस्तै रेजिना मल्ललाई रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम स्वास्थ्य ९मुटु० पत्रकारिता पुरस्कार कृष्ण खनाललाई, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सबै पुरस्कारको राशी जनही पाँच हजार रहेको छ ।

यस्तै अग्रजहरुलाई पनि शाखाले सम्मान गरेको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुकेलाई सम्मान गरिएको छ । यस्तै विभिन्न पुरस्कार र अक्षयकोष स्थापना गरेका व्यक्तित्व र प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यस अवसरमा आमाद्वय रामकली र चन्द्रकला कुर्मीको नाममा रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका डा।कौशलकुमार बर्मा, आफ्नी आमा बेलमति शर्माको नाममा बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका जीवन शर्मा, आफ्ना पति सूर्यनाथ गौतमको नाममा सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरेकी सुशिला गौतम, आफ्नी श्रीमती माधवी शर्माको नाममा माधवी शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका गोपाल बैरागी तथा आफ्ना बुवा राम आधार र आमा रामप्यारी बर्माको नाममा राम आधार–रामकली पत्रकारिता पुरस्कार स्थापना गरेका माधवराम बर्मालाई सम्मान गरिएको छ । यस्तै आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताललाई समेत सम्मान गरिएको छ ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा पत्रकारका विभिन्न संघसंगठन, अग्रज पत्रकार लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा विभिन्न विधामा कलम चलाएका बाँकेका पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
साधारण सभाले सचिव कमल डाँगीको सांगठनिक र कोषाध्यक्ष विनोद पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Nabintech