२३ आश्विन २०८१, बुधबार
‘लडाकू कमाण्डर’ले बनाएको नमूना नगरपालिका


धेरैजसो स्थानीय तहको ध्यान सडक, पुल, भ्यूटावर जस्ता ‘आकर्षक’ निर्माणमा केन्द्रित भइरहँदा पश्चिम तराईको बारबर्दिया नगरपालिकाले कुल बजेटको झण्डै एकतिहाइ शिक्षाको विकासमा खर्च गरेर  ‘चुपचाप क्रान्ति’ गरिरहेछ।

बीपी अनमोल खाेज पत्रकारिता केन्द्र

संघीयता कार्यान्वयनमा गएसँगै बनेको बारबर्दिया नगरपालिका बर्दिया जिल्लाकै निम्ति नयाँ नाम थियो। नाम नै नयाँ भएकाले यसलाई आफ्नो पहिचान स्थापित गर्न सजिलो थिएन। साविकका बानियाभार, पद्नाहा, धधवार र मगरागढी गाविसलाई मिलाएर जन्मिएको स्थानीय तह हो, यो। तर; पहिलो पटक निर्वाचित स्थानीय सरकारहरूले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्दैगर्दा बारबर्दियाले देशभरकै ध्यान खिचेको छ। यसको कारण जोडिन्छ, शिक्षाको विकासमा बारबर्दियाले गरिरहेको मिहिनेत र त्यसको अगुवाइ गरेका मेयर दुर्गाबहादुर थारूसित।

कुनै बेला ‘कबिर’ नामले चर्चित माओवादीका तत्कालीन लडाकू कमाण्डर नै बारबर्दियाका अहिलेका मेयर दुर्गाबहादुर थारू हुन्। तत्कालीन लडाकूहरूको क्यान्टोन्मेन्ट बसाइ शुरू भएपछि बाहिर निस्केर उनी माओवादीको अर्धसैन्य दस्ता, वाईसीएलको केन्द्रीय सचिवालय सदस्य बने। तर, केही महीनामै त्यहाँबाट निस्किएर माओवादीको बर्दिया जिल्ला सेक्रेटरी बने। त्यही जिम्मेवारीले उनलाई बारबर्दियाको मेयरसम्म बनायो।

विद्यालयका कक्षाकोठामा पुगेर अनुगमन गर्दै मेयर दुर्गाबहादुर थारु।

मेयर दुर्गाबहादुरले नगरपालिकामा नमूना भन्न मिल्ने कामको जग बसाएर त्यसलाई गति दिन खटिरहेका छन्। चाहने हो भने स्थानीय सरकारले धेरै काम गर्न सक्छन् भन्ने उनले सिद्ध गरेका छन्। खासगरी शिक्षाको विकासमा नगरपालिकाले गरिरहेको प्रयत्न अनुकरणीय छ।

परिवर्तनको शुरूआत

बर्दियाका स्थानीय तहमध्ये क्षेत्रफलका हिसाबले सबभन्दा ठूलो र थारू बाहुल्य नगरपालिका हो, बारबर्दिया। बर्दियामै जनसंख्याको प्रथम हिस्सा ओगट्ने थारू समुदाय शिक्षामा भने सबभन्दा पछि छ। औलो उन्मूलनसँगै पहाडबाट तीव्र बनेको बसाइसराइ, त्यसक्रममा भएको थिचोमिचो लगायतका कारण ‘तराईका धर्तीपुत्र’ थारू समुदायको एउटा हिस्सा भूमिहीन अवस्थामा पुग्यो। गरीबी पहिल्यैदेखि थियो, यसरी थपिएको अर्को समस्याले थारू समुदायको अझ ठूलो हिस्सालाई आजीविकाको समस्यातर्फ धकेल्यो। २ साउन २०५७ मा कमैया मुक्तिको घोषणा हुनु अघिसम्म बर्दियाका थारू समुदायको ठूलो हिस्सा दासप्रथाको अवशेष मानिने कमैयाको भूमिकामा पनि थियो।

जमीनदारको घरमा अति न्यून ज्यालाका भरमा दिनरात काम गर्न बाध्य यो समुदाय शिक्षाको पहुँचबाट प्रायः टाढै रह्यो। बर्दियामा विद्यालय ‘ड्रप आउट’ सबभन्दा धेरै यही समुदायमा रहेको सरकारी आँकडाहरूले नै देखाइरहेका थिए। शिक्षामा पछिपरेका उनीहरूको गुजाराको मुख्य उपाय हो, भारतमा मजदूरी। पछिल्लो समय त्यसमा खाडी मुलुक र मलेशिया पनि थपिए।

कुचो लिएर विद्यालयका शौचालय सफा गर्दै मेयर दुर्गाबहादुर थारु।

यो अवस्थाबारे जानकार दुर्गाबहादुरमा मेयर निर्वाचित हुनासाथ शिक्षामै केही गर्ने हुटहुटी देखियो। शुरूमा उनी अवस्था बुझ्न नगरपालिकाभित्रका विद्यालयहरूको अनुगमनमा निस्किए। “चुनाव जितें भने थारू समुदायको शैक्षिकस्तर उकास्ने काम गर्छु भन्ने अठोट पहिल्यैदेखि थियो” उनले भने, “त्यही भएर म बाल विकासदेखि माध्यमिक विद्यालयसम्मको अनुगमनमा गएँ।”

तर, त्यहाँको अवस्था हैरान पार्ने खालको थियो। धेरैजसो विद्यालयका भवन जीर्ण थिए। कक्षाकोठा अस्तव्यस्त। बालबालिका बसेर पढ्ने फर्निचर थिएनन्, विद्यार्थी खेल्न छुट्याइएको मैदान बस्तुभाउ चर्ने चउर बनेको थियो। शौचालयको के कुरा, दुर्गन्धले पस्नै नसकिने। पुग्दो शिक्षक नै थिएनन्, धेरै ठाउँमा।

यो अवस्थामा विद्यार्थीले के पढ्लान्, कसरी पढ्लान् ? उनलाई यस्तै लाग्यो। र, सुधारका लागि आफैं अघि सर्नुपर्छ भन्ने अठोटसहित कुचो लिएर विद्यालयका शौचालय सफा गर्न निस्किए। कक्षाकोठा बढार्न आफंै अघि सरे। दुर्गाबहादुर भन्छन्, “मैले त्यस्तो ठूलो काम त केही गरेको थिइनँ, तर त्यसले नैतिक दबाब सिर्जना गर्‍यो। अनि शिक्षकहरू नै कक्षाकोठा र शौचालय सरसफाइमा जुट्नुभो।”

विद्यालयहरूमा शिक्षकको अभाव पूर्ति गर्न उनले नगरपालिकाकै अनुदानमा ११५ जना शिक्षक राख्ने निधो गरे।

विद्यालयको पूर्वाधार सरसफाइले मात्र काम लाग्ने खालका थिएनन्। जीर्ण भवन र भद्रगोल कक्षाकोठा सुधार नगरी नहुने थियो। त्यसपछि नगरपालिका विद्यालयहरूको भौतिक संरचना सुधारमा जुट्यो। पुराना भवन मर्मत गर्ने, भवन नभएका ठाउँमा नयाँ बनाउने, विद्यालयमा ‘कम्पाउण्ड वाल’ लगाउने र चौपायाको चरनस्थल बनेका मैदानलाई बालबालिका खेल्ने खेलमैदानमा रूपान्तरण गर्ने काम एकसाथ अघि बढ्यो।

अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा कार्यक्रम।

यतिले मात्र शिक्षाको स्तर बढ्ने अवस्था थिएन। स्तर बढाउने चाहिं कसरी त ? लामो माथापच्चीपछि एउटा उपाय निस्कियो। “हामीले धेरै जनासँग छलफल गरेर यस्तो निष्कर्ष निकालेका थियौं। त्यो के भने, विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्तर वृद्धि गर्न सम्झौता गर्ने। त्यसो गर्नका लागि नगरपालिकाले विद्यालयमा कुनै कुराको अभाव हुन नदिने सम्झौता गर्‍यौं” दुर्गाबहादुर भन्छन्, “नभन्दै सुधार देखिन थाल्यो।”

देशभरका स्थानीय तहमध्ये शायद बारबर्दिया नै पहिलो होला जसले कुल बजेटको ३२–३३ प्रतिशत शिक्षामा लगानी गरेको छ। यो निकै ठूलो कुरा हो, ‘एमबीबीएस, सीए, इन्जिनियरिङ सहितका उच्च शिक्षामा छात्रवृत्ति दिएको छ। प्राविधिक शिक्षालयहरू स्थापना गरेको छ। दशवर्षे शिक्षा योजना पनि सार्वजनिक गरेको छ। शिक्षामा केही गरौं भन्ने भावना छ।

नगरपालिका शिक्षाको गुणस्तर सुधार्न कम्मर कस्दै थियो। तर, त्यही नगर क्षेत्रभित्र भने विद्यालय जाने उमेरका कैयौं बालबालिका गुजाराका लागि होटलमा भाडा माझिरहेका थिए। उनीहरूले विद्यालयमा पाइला टेक्न पाएकै थिएनन्। त्यसपछि नगरपालिकाले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय लियो। यो अभियानका क्रममा विद्यालय जाने उमेरका सबैजसो बालबालिकालाई भर्ना गरियो। यही अभियानका क्रममा अभिभावक नभएका २२ जना टुहुरा बालबालिका भेटिए जसले विद्यालय देखेकै थिएनन्। नगरपालिकाले ती बालबालिकालाई बाल संरक्षण केन्द्रमा राखेर पढाउन शुरू गर्‍यो।

बारबर्दिया नगरपालिकाले सीमा मावि, बेल्भारमा बाल संरक्षण गृह खोलेर २२ जना अनाथ बालबालिकाका लागि खाने, बस्ने व्यवस्था सहितको स्कूल नै चलाएको छ।

यी र यस्तै पहलको परिणाम एक वर्षमै बारबर्दिया अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको देशकै पहिलो नगरपालिका बन्यो। तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा २८ असार २०७५ मा यसलाई आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरियो। त्यो घोषणाअघि नगरपालिकाले घरघरमा पुगेर सर्वेक्षण गरी ५ देखि १२ वर्ष उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भए कि भएनन् भन्ने अध्ययन गरेको थियो। 

छात्रवृत्तिमा छलाङ

बारबर्दिया नगरपालिकाले ‘जनतासँग मेयर’ नाम दिएर छात्रवृत्ति कार्यक्रम शुरू गरेको छ। यो छात्रवृत्तिअन्तर्गत एक–एक जनालाई एमबीबीएस, इन्जिनियरिङ र चार्टर्ड अकाउन्टेन्सी (सीए) पढाउने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्छ। त्यसबाहेक थप ५० जनालाई अरू विषयमा उच्च शिक्षाका लागि पनि नगरपालिकाले पूर्ण छात्रवृत्ति दिएको छ।

छात्रवृत्तिका लागि आर्थिक हिसाबले सबैभन्दा कमजोर समुदायका मुक्त कमैया, सुकुम्बासी लगायतलाई पहिलो प्राथमिकतामा राखिएको छ। दुर्गाबहादुर भन्छन्, “कुल मिलाएर ५३ जनालाई पूर्ण छात्रवृत्ति दिएका छौं। साधारणतर्फको उच्च शिक्षामा त त्यति ठूलो रकम लाग्दैन। तर, एमबीबीएस, इन्जिनियरिङ र सीए पढ्नेका लागि छात्रवृत्ति बापत वार्षिक ४० लाख बजेट छुट्याइरहेका छौं।”

१० वर्षे शिक्षा क्षेत्र योजना सार्वजनिक गर्दै।

यो छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिई बढाउँदै लैजाने योजना बनाइएको छ। नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईई गरेकालाई मात्र छात्रवृत्ति दिने मापदण्ड बनाएको छ। “यो वर्ष एमबीबीएसमा भने कसैले पनि प्रवेश परीक्षा उत्तीर्ण गर्न सकेनन्, इन्जिनियरिङ, सीए लगायतका विषयमा भने हाम्रो छात्रवृत्तिको पढाइ शुरू भएको छ” उनले भने, “अर्को वर्षदेखि एमबीबीएसमा पनि शुरू हुने आशा छ।”

किसानका सन्तानलाई रोजगार बजार

कैयौं स्थानीय सरकारका प्राथमिकतामा सडक, पुल, भ्यूटावर जस्ता ‘आकर्षक’ संरचना निर्माण परिरहँदा बारबर्दिया त्यसमा पृथक् देखिन्छ। अझ रोचक त नगरपालिकाले सबभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको छ। वार्षिक कुल बजेटको करिब ३३ प्रतिशतसम्म शिक्षामा विनियोजन भइरहेको नगरपालिकाको आँकडाले नै देखाउँछ।

बारबर्दियाले शिक्षामा गरिरहेको पहललाई नजिकबाट हेरेका शिक्षा पत्रकार प्रकृति अधिकारी सबै स्थानीय तहले बारबर्दियाबाट सिक्न जरूरी रहेको बताउँछन्। “देशभरका स्थानीय तहमध्ये शायद बारबर्दिया नै पहिलो होला जसले कुल बजेटको ३२–३३ प्रतिशत शिक्षामा लगानी गरेको छ। यो निकै ठूलो कुरा हो” अधिकारीले भने, ‘एमबीबीएस, सीए, इन्जिनियरिङ सहितका उच्च शिक्षामा छात्रवृत्ति दिएको छ। प्राविधिक शिक्षालयहरू स्थापना गरेको छ। दशवर्षे शिक्षा योजना पनि सार्वजनिक गरेको छ। शिक्षामा केही गरौं भन्ने भावना छ।”

नगरपालिकाले केही समय अघि मात्र १० वर्षे शिक्षा क्षेत्र योजना ल्याएको छ। त्यसका लागि ‘बारबर्दिया नगरपालिकाको शैक्षिक प्रतिबद्धता, गुणस्तरीय शिक्षा मार्फत सुख, शान्ति र आत्मनिर्भरता’ भन्ने नारा दिइएको छ। यो योजनालाई अथ्र्याउँदै मेयर दुर्गाबहादुर भन्छन्, “शिक्षा भनेको पूर्वाधारको पनि पूर्वाधार हो। शिक्षा भएन भने समाज अघि बढ्ने पूर्वाधार तयार हुँदैन, समाजले गति समात्न सक्दैन। त्यसकारण हामीले शिक्षालाई सही बाटोमा ल्याउन १० वर्षे योजना ल्यायौं।”

यो योजना मार्फत नगरपालिकाले सामुदायिक विद्यालय सशक्त बनाउने लक्ष्य राखेको छ। अन्यत्र जस्तै बारबर्दियामा पनि अभिभावकले सकभर आफ्ना बालबालिकालाई सामुदायिक विद्यालय नपठाउने प्रवृत्ति छ। त्यसको कारण त्यहाँ गुणस्तरीय शिक्षा छैन भन्ने बुझाइ नै हो। गुणस्तरकै लागि निजी विद्यालयमा महँगो शुल्क तिरेर छोराछोरी पढाइरहेका अभिभावकलाई पनि सामुदायिक विद्यालयमै तान्न यस्तो बुझाइ चिर्न जरूरी छ। नगरपालिकाले १० वर्षे योजना मार्फत त्यही गर्न खोजेको छ।

“हामीले सबैको साथ लिएरै यी पाइला चालेका हौं। अब नेतृत्वमा जो आए पनि यसलाई योजना बनाएरै अगाडि बढाउनुहुन्छ। अबको एक दशकमा बारबर्दिया मात्र होइन, बर्दिया र देशकै विकास गर्ने जनशक्ति यहीं उत्पादन गर्ने लक्ष्य जो छ।”

त्यही कारण हुनसक्छ, योजनामा अहिले एक कक्षामा भर्ना भएका विद्यार्थीलाई १० वर्षपछि देशकै अब्बल विद्यार्थी बनाउने महत्वाकांक्षी झैं लाग्ने लक्ष्य समेटिएको छ। विद्यालयमा विद्यार्थी र शिक्षकको नियमित उपस्थितिसँगै शिक्षकहरूको क्षमता वृद्धिका लागि तालीम सञ्चालन गर्ने, सिकाइमा प्रविधिको प्रयोग गर्ने, विद्यार्थीमा सिक्ने गुण र अनुशासनको विकास गर्ने र मुख्यतः बाल विकासलाई प्राथमिकता दिने योजना त्यसमा समेटिएका छन्। विद्यालयहरूको पूर्वाधार विकास, कक्षाकोठा र प्रयोगशाला, फर्निचर र आईसीटी ल्याब आदि पनि योजनामा परेका छन् जस मार्फत नगरपालिकाले ‘सामुदायिक विद्यालय हेर्दा नै पढौं–पढौं लाग्ने बनाउने’ लक्ष्य राखेको छ।

यो त भयो विद्यालय शिक्षाको कुरा। नगरपालिकाले शिक्षाको विकासमा त्यसभन्दा अगाडिका पाइला पनि चालेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट स्वीकृति लिएर बारबर्दियाले आफैं फरेस्ट्री क्याम्पस सञ्चालन गरेको छ। अहिले त्यहाँ ८२ जना विद्यार्थी पढिरहेका छन् र दोस्रो वर्षको पढाइ चलिरहेको छ। जुम्लादेखि कञ्चनपुरसम्मका विद्यार्थी पढ्ने फरेष्ट्री क्याम्पसमा १७ जनालाई पूर्ण छात्रवृत्ति दिइएको छ।

मेयर दुर्गाबहादुर यसलाई सीटीईभीटीको आंगिक प्राविधिक शिक्षालयका रूपमा मान्यता दिलाउने दौडधुपमा छन्। त्यही लक्ष्य सहित यसलाई ‘शहीद विष्णु–धनि बहुप्राविधिक शिक्षालय’ नाम दिइएको छ। बहुप्राविधिक यसकारण कि यसमा स्वास्थ्यका पाँचवटा विषयमा पनि पढाइ शुरू गर्ने तयारी छ। स्वास्थ्य शिक्षातर्फ हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अनमीको पढाइ शुरू गरेर सीटीईभीटीको आंगिक शिक्षालय बनाउने अभियानमा लागेको नगरपालिकाले अहिले जग्गा व्यवस्थापनको काम गरिरहेको छ।

“यो बर्दियाकै शिक्षामा क्रान्ति हुनेछ। किनभने बर्दियामा धेरै गरीब किसान छन्। तिनका छोराछोरी घरमै बसेर प्राविधिक शिक्षा पढ्न पाए भने भोलि रोजगार बजारमा जोसुकैसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छन्। १० वर्षपछि जिल्लामा चाहिने जनशक्तिका लागि पनि हामीले अरूतिरको मुख ताक्नु पर्दैन।”

स्वास्थ्यका हरेक विषयमा पनि स्थानीय, जेहेनदार र आर्थिक अवस्था हेरेर १७–१७ जनालाई पूर्ण छात्रवृत्ति दिने योजना छ। “यो बर्दियाकै शिक्षामा क्रान्ति हुनेछ। किनभने बर्दियामा धेरै गरीब किसान छन्। तिनका छोराछोरी घरमै बसेर प्राविधिक शिक्षा पढ्न पाए भने भोलि रोजगार बजारमा जोसुकैसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छन्। १० वर्षपछि जिल्लामा चाहिने जनशक्तिका लागि पनि हामीले अरूतिरको मुख ताक्नु पर्दैन।”

नगरपालिकाले ‘बारबर्दिया गौरव’ नाम दिएर स्थानीय भाषामा पनि पढाइ शुरू गरेको छ। नगर क्षेत्रभित्रका ५७ वटै सामुदायिक विद्यालयमा १, २, ३ र ६ कक्षामा स्थानीय पाठ्यक्रम लागू भइसकेको छ। अहिले ४ र ५ कक्षाको स्थानीय पाठ्यक्रम छाप्ने काम भइरहेको र आउँदो शैक्षिक सत्रदेखि ४ र ५ कक्षामा पनि स्थानीय पाठ्यक्रमबाट पढाइ शुरू गर्ने तयारी छ।

बारबर्दियामा स्थानीय सरकारले शिक्षाको विकासमा गरिरहेको पहल सबैतिरबाट प्रशंसित छ। नेपाली कांग्रेसबाट बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्व सिंचाइमन्त्री सञ्जय गौतम भन्छन्, “स्थानीय सरकारका राम्रा र कमजोर पक्ष दुवै हुन्छन्। बारबर्दिया नगरपालिकाले शिक्षा र स्वास्थ्यमा राम्रो गरिराखेको छ। खासगरी शिक्षाका क्षेत्रमा यसले गरिरहेको कामको हामीले प्रशंसा गर्नैपर्छ।”

शिक्षादेखि स्वास्थ्यसम्म: कसरी जुट्छ बजेट ?

बारबर्दियाले पालिकाभित्र अनिवार्य निःशुल्क शिक्षा कार्यान्वयनमा ल्याएकाले शिक्षकको व्यवस्था पनि नगरपालिकाको जिम्मेवारी भएको छ। नगरपालिकाले आफ्नो बजेटबाट ११५ जना शिक्षक थपिसक्दा पनि विद्यार्थीको अनुपातमा शिक्षकको संख्या निकै कम छ।

नगरपालिकाले चलाएको अभियानका कारण विद्यालयबाहिर रहेका बालबालिका भर्ना भएका छन्, तर उनीहरूलाई विद्यालयमा टिकाइराख्न सजिलो छैन। उनीहरूको व्यवस्थापन गर्न एक त पर्याप्त शिक्षक छैनन्, विद्यार्थी अनुसार कक्षाकोठाको समस्या पनि छ। त्यसमाथि सुकुम्बासी, मुक्त कमैया बस्तीका आमाबुबा जता काम गर्न जान्छन्, बालबालिका पनि उतै जाने भएकाले उनीहरूलाई विद्यालयमा नियमित उपस्थित गराउन कठिन छ। कैयौं बालबालिकालाई विद्यालयबाहिर रहन नदिन नगरपालिकाले थप लगानी र मिहिनेत गर्नुपर्नेछ।

नगरपालिकाले सञ्चालनमा ल्याएको आरसी थारु मेमोरियल नगर अस्पताल।

बर्दियाका आठ स्थानीय तहमध्ये आफ्नै अस्पताल सञ्चालन गर्ने बारबर्दिया पहिलो नगरपालिका हो। नगरपालिकाले सञ्चालनमा ल्याएको १५ शय्याको आरसी मेमोरियल अस्पतालले २५ शय्याको अस्पतालसरह सेवा दिइरहेको छ। अस्पतालमा अहिले तीन जना चिकित्सक छन्। चाँडै यसलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको छ।

शुरूआत राम्रो भए पनि नगरपालिकाले शिक्षा र स्वास्थ्यमा अघि बढाएका कामले निरन्तरता पाउन बजेट सबभन्दा महत्वपूर्ण हुन्छ। अहिले नै झण्डै ३३ प्रतिशत बजेट नगरपालिकाले शिक्षा क्षेत्रमा खर्च गरिरहेको छ। स्वास्थ्यको समेत जोड्दा यो आँकडा अझ बढी हुन्छ। भर्खरै ल्याइएको १० वर्षे शिक्षा योजनाका लागि आउँदो पाँच वर्षमा मात्र कम्तीमा रु.१ अर्ब ५० करोड आवश्यक पर्ने उल्लेख गर्दै मेयर दुर्गाबहादुर भन्छन्, “हामीले संघ र प्रदेशबाट पनि बजेट प्राप्त हुने आशा गरेका छौं। झण्डै पाँच वर्षको आफ्नै अनुभवका आधारमा अबका पाँच वर्षमा न्यूनतम यति बजेट लगानी गर्दा शिक्षा क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउन सकिन्छ भन्ने हाम्रो आकलन छ।”

बजेट जस्तै ठूलो चुनौती हुनेछ, वैशाख ३० गते हुने निर्वाचनपछि आउने जनप्रतिनिधिले यसलाई कसरी अघि बढाउलान् भन्ने सवाल। दुर्गाबहादुर भने त्यसमा चिन्तित देखिएनन्। उनले भने, “हामीले सबैको साथ लिएरै यी पाइला चालेका हौं। अब नेतृत्वमा जो आए पनि यसलाई योजना बनाएरै अगाडि बढाउनुहुन्छ। अबको एक दशकमा बारबर्दिया मात्र होइन, बर्दिया र देशकै विकास गर्ने जनशक्ति यहीं उत्पादन गर्ने लक्ष्य जो छ।”

(खोज पत्रकारिता केन्द्रका लागि)

Nabintech