१४ बैशाख २०८१, शुक्रबार
कहिले उठाउला कोहलपुर नगरपालिकाले फोहर ?


लामो समय देखी सडक छेउछाउको फोहोर उठ्न नसक्दा कोहलपुर कुरुप र दुर्गन्धित हुँदै गएको छ ।

फोहर व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनीले फोहर उठाउन छाडेपछी कोहलपुर बजार दुर्गन्धित र कुरुप बन्दै गएको हो । कोहलपुर नगरपालिकाले सम्झौता अनुसारको फोहर फाल्ने स्थान उपलब्ध नगराउँदा आफुहरुले फोहर उठाउन नसकेको सो कम्पनीले बताउँदै आएको छ । कम्पनीका सञ्चालक हरी शरण के.सी.ले फोहर फाल्ने स्थानको अभावमा आफुहरुले फोहर उठाउन नसकेको बताए ।
तर, कोहलुर नगरपालिकाले भने फोहोर संकलनमा भएको सम्झौता त्रुटिपूर्ण र अपूर्ण भएकाले ति सबै माग सम्बोधन गर्न नसकिएको बताएको छ । जसको प्रभावले सडकभरी यत्रतत्र फोहोर थुप्रिएको छ । एक सुन्दर सहरका रुपमा परिचित कोहलपुरको परिचय नै फेरिने गरी फोहोर थुप्रिरहेको छ ।

केही साता अघिमात्र नगरपालिकाले सहमति अनुसार भुक्तानी नदिएको भन्दै जटायुले फोहोर संकलन गर्न रोकेको थियो । रकम दिने मौखिक सहमति भएपछि पुनः जटायुले फोहोर उठाएको थियो । अहिले पुनः फोहोर बिसर्जनका लागि नगरले जग्गा नदिएको भन्दै जटायुले फोहोर संकलन गर्न छोडेको छ ।

पटकपटक नगर र जटायुबीचको द्वन्द्वको मार नगरवासीले खेप्नु परेको छ । कोहलपुरको मुख्य बजार क्षेत्रमै फोहोरको डंगुर थुप्रिएपछि नगर नै दुर्गन्धित बन्दै जान थालेको छ ।
२०७७ असार २६ गते नगरको फोहोर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले जटायु रिसाइकलर्ससँग सम्झौता गरेको थियो । जटायुले फोहोर फाल्दै आएको कोहलपुर–९ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा फागुन १५ गते स्थानीयले तालाबन्दी गरेका थिए । उनीहरुले फोहोरको दुर्गन्ध गाउँसम्म आएको र गाउँमा धेरै हरिया माखा लागेकाले फोहोरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी गरेको बताइएको छ ।

अहिलेसम्म पनि नगरपालिकाले फोहोर फाल्न अर्को स्थानको व्यवस्था नगरेकोले बजार क्षेत्रबाट फोहोर उठाउने काम बन्द गरिएको जटायु रिसाइकलर्सका संञ्चालक केसीले बताए ।
सामुदायिक वन क्षेत्रमा फोहोर व्यवस्थापनको लागी पहल भई रहेको कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले बताए ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले अविलम्ब वैकल्पीक व्यवस्था गरि फोहर उठाउन नगरपालिकालाई आग्रह गरे । फोहोर व्यवस्थापनमा नगरपालिका र ठेक्का पाएको जटायु रिसाईकलर्स गैर जिम्मेवार बन्दा जनताले शास्ती पाएको उनले बताए ।
सचेत युवाहरुले उठाए फोहर


झण्डै २ हप्ता देखि नगरपालिकाले फोहर नउठाए पछि कोहलपुर क्षेत्रका युवाहरुले सामुहीक पहलमा फोहर उठाउन सुरु गरेका छन ।
नगरपालिका गैर जिम्मेवार बनेपछि युवाहरुको सामुहीक पहलमा फोहर उठाउन सुरु गरिएको अभियान सञ्चालन गर्ने मध्येका एक र्अजुन जंग शाहले जानकारी दिए । शाह लागायतका युवाहरुले बिगत ३ दिन देखि फोहर उठाउन सुरु गरेको जानकारी दिए ।

Nabintech