१३ बैशाख २०८१, बिहीबार
चुनावका लागि माओवादीले बनायो २८ वटा कमाण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचन केन्द्रीत अभियानका लागि २८ वटा केन्द्रीय कमाण्ड निर्माण गरेको छ । दुई देखि चार वटा सम्म जिल्लालाई जोडेर माओवादीले एउटा कमाण्ड बनाएको छ ।

त्यस्तो कमाण्डको नेतृत्व गर्ने गरी सम्वन्धित प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने बरिष्ठ नेतालाई जिम्मेवारी दिइएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘सात वटै प्रदेशमा दुई देखि तीन जिल्ला जोडेर एउटा कमाण्ड बनाईएको छ, कुनैमा भने ४ वटा सम्म जिल्लालाई जोडेर कमाण्ड बनाईएको छ, त्यही कमाण्ड अन्र्तगत निर्वाचनका समग्र योजना बन्नेछन्, कमाण्डको जिम्मा प्रदेशबाट केन्द्रीय समितिमा रहनुभएका वरिष्ठ केन्द्रीय नेताले गर्नुभएको छ,’ ती केन्द्रीय सदस्यले बताए ।

प्रदेश १ मा ५ वटा कमाण्ड बनाईएको छ । ताप्लेजुङ, पाँचथर, इलामको पहिलो, झापा, मोरङ र सुनसरीको दोस्रो, धनकुटा, तेह्रथुम र संखुवासभाको तेस्रो, भोजपुर, खोटाङ र उदयपुरको चौथो र सोलखुम्बु र ओखलढुंगाको पाचौं कमाण्ड प्रदेश १ मा बनाईएको छ । मधेस प्रदेशमा दुई दुई वटा जिल्लालाई जोडेर ४ वटा कमाण्ड बनाईएको छ । सप्तरी सिराहको पहिलो, धनुषा महोत्तरीको दोस्रो, सर्लाही रौतहटको तेस्रो र बारा र पर्साको चौथो कमाण्ड मधेस प्रदेशमा माओवादीले बनाएको छ । बागमति प्रदेशमा ५ वटा कमाण्ड बनाइएको छ । चितवन मकवानपुरको पहिलो, धादिङ, नुवाकोट र रसुवाको दोस्रो, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको तेस्रो, सिन्धुली रामेछापको चौथो र भक्तपुर, काठमाडौं र ललितपुरको पाँचौं कमाण्ड माओवादीले बनाएको छ । गण्डकी प्रदेशमा ४ वटा कमाण्ड बनाइएको माओवादीले जनाएको छ ।

गोरखा, लमजुङ र मनाङको एउटा कमाण्ड, तनँहु नवलपरासीपूर्वको दोस्रो, स्याङजा, कास्की र पर्वतको तेस्रो र बाग्लुङ, म्याग्दी मुस्ताङको चौथो कमाण्ड बनाईएको छ । लुम्बिनी प्रदेशमा पनि माओवादीले चार वटा कमाण्ड बनाएको छ । नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई पहिलो, पाल्पा, गुल्मी र अर्घाखाँचीलाई दोस्रो, प्यूठान, रुकुम पूर्व, रोल्पालाई तेस्रो र दाङ, बाँके र बर्दियालाई चौथो कमाण्ड बनाईएको छ ।

माओवादीले कर्णाली प्रदेशमा भने तीन वटा कमाण्ड बनाएको छ । सुर्खेत, दैलेख र सल्यानको एउटा कमाण्ड, जाजरकोट, डोल्पा र रुकुम पश्चिमको दोस्रो तथा कालिकोट जुम्ला, मुगु र हुम्लाको तेस्रो कमाण्ड कर्णाली प्रदेशमा बनाएको छ ।

सूदुरपश्चिम प्रदेशमा अछाम, डोटी र बाजुराको पहिलो, बैतडी , बझाङ र दार्चुलाको दोस्रो तथा कैलाली कञ्चनपुर र डडेलधुराको तेस्रो कमाण्ड माओवादीले बनाएको छ । घर -घरमा सदस्य, टोलटोलमा संगठन बनाउने माओवादीले चुनावी अभियानका रुपमा दुई महिने अभियान अहिले चलाईरहेको छ । अभियान अन्र्तगत यसरी गठन गरिएको २८ वटा कमाण्डले संगठन परिचालन टिम गठन गरी घर घरमा पार्टी सदस्य र टोलटोलमा संगठन बनाउने भएको छ ।

एक टोल, एक वाइसीएल को टिम

एक टोल, एक वाइसीएल को टिम बनाउने पनि माओवादीले योजना बनाएको छ । सबै तहका कमिटिलाई पूर्णता दिने, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटि र परिषदहरु गठन गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहमा आवश्यक विभागहरु बनाउने, संगठित सदस्यलाई पार्टी कमिटिमा संगठीत गर्ने र नयाँ पार्टी सदस्यता वितरण गर्ने सम्मको योजना माओवादीले बनाएको छ । वैचारिक- राजनीतिक रुपमा प्रशिक्षित गर्ने माओवादीले आफना पार्टी सदस्य देखि शुभचिन्तक कार्यकर्ता सम्मलाई केन्द्रीत गर्ने गरी अभियानकै क्रममा वैचारिक, राजनीतिक प्रशिक्षण दिने सम्मको योजना बनाएको छ । वैचारिक प्रशिक्षणका क्रममा, २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो, समाजवाद उन्मुख समृद्धिको कार्यक्रम, नेपाली जनक्रान्तिको मौलिक विशेषता र संघीय लोकतान्त्रिक गणतन्त्र, नयाँ ढंगको क्रान्तिकारी पार्टी, बदलिएको सन्र्दभमा जवस, मोर्चा र सामुदायिक संघ संगठनहरुको भूमिका, जनदिशाको महत्व र विधि, दलाल पुँजीवादविरुद्धको संर्घष र राष्टिय स्वाधिनताको सवाल, आसन्न निर्वाचनमा पार्टीका एजेण्डा, वर्तमान राजनीतिक अवस्था र विभिन्न प्रवृतिहरु लगायतका अन्य समासामायिक विषयमा केन्द्रीत रहेर वक्ता टोली नै गठन गरेर प्रशिक्षण दिने माओवादीले जनाएको छ ।

प्रशिक्षण कार्यक्रम अन्र्तगत नै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थितीमै अहिले माओवादीले पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम चलाईरहेको छ । आजैमात्र जवस र सम्र्पक समन्वयको आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा प्रशिक्षण कार्यक्रम राखेको छ । यस अगाडी बागमति, कर्णाली, सुदुरपश्चिम र प्रदेश १ को प्रशिक्षण कार्यक्रम प्रचण्डकै उपस्थितीमा माओवादीले सम्पन्न गरेको छ ।

अव भोलि लुम्बनी प्रदेशमा, चैत ६ गते गण्डकी प्रदेशमा र चैत ८ गते मधेस प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम माओवादीले तय गरेको छ । केन्द्रबाट अपिल प्रकाशन गर्ने, पालिकाले घोषणापत्र माओवादीले चुनावी अभियानका क्रममा केन्द्रबाट अपिल प्रकाशन गर्ने भएको छ । समग्र मतदातालाई माओवादी केन्द्र र त्यसका उम्मेदवारहरुलाई किन मतदान गर्ने ? भन्ने विषय खुलाएर केन्द्रले आम मतदाताका लागि अपिल प्रकाशन गर्ने निर्णय भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तले जानकारी दिए । त्यस्तै पालिकास्तरमा भने चुनावी घोषणापत्र बनाएर सार्वजनिक गर्ने निर्णय माओवादीले गरेको छ । स्थानीय पालिका विशेषका आधारमा घोषणापत्र र गर्नुपर्ने काम , गरिएका कामहरुको बारेमा अलग अलग चुनावी घोषणापत्र माओवादीले बनाएर सार्वजनिक गर्ने भएको छ । चुनावी नारा के ? माओवादीले गाँउ, नगर घर-घर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं, माओवादीको नीति र नेतृत्व, संघीय ब्यवस्था र समानुपातिक प्रतिनिधित्व, नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ, प्रदेश र स्थानीय स्तरमा जनसरकार भन्ने चुनावी नारा बनाएको छ । त्यस्तै उसले सवै खाले प्रतिगामी षडयन्त्रको प्रतिकार गरेर जनक्रान्तिका उपलब्धीको रक्षा र विस्तार गरौं, श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सास्कृतिक रुपान्तरणको अभिवृद्धि गरौं, विभेद, उत्पीडनर भष्टाचारको अन्त्य गरौं, सामाजिक न्याय, सुशासन र समतामूलक समाजको विकास गरौं भन्ने जस्ता चुनावी नारा पनि केन्द्रीय तहवाट निर्धारण गरेको छ ।

Nabintech