१२ बैशाख २०८१, बुधबार
अख्तियारमा कोहलपुर नगरपालिकाका सबैभन्दा धेरै उजुरी


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा विगत दुई वर्षमा मात्रै एक सय १३ वटा उजुरी बाँकेका आठवटा स्थानीय तहसँग सम्बन्धित परेका छन् । तर, ती उजरीमध्ये कति उजुरीमाथि छानबिन सम्पन्न भएर दोषीलाई कारबाही भयो ? यसको जवाफमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख विजयराज पौडेल भन्छन्, ‘कारबाही पनि विभिन्न किसिमको हुन्छ ।

कतिपय मुद्दामा दोषीलाई आगामी दिनमा यस्तो नगर्न लिखितरुपमा सचेत गराइन्छ । कतिपय विशेष अदालतमा मुद्दा दायर गरिन्छ । ठ्याक्कै कतिवटा मुद्दामा कारबाही भयो भन्ने तथ्यांक केन्द्रबाट माग्नुपर्ने हुन्छ ।’

अख्तियारमा परेका बाँकेका स्थानीय तहका उजुरीमध्ये हालसम्म ४८ वटा मुद्दा मात्रै फछ्र्याैट भएका छन् । गत आर्थिक वर्षका ६२ उजुरीमध्ये १९ र चालु आर्थिक वर्षको फागुन २६ गतेसम्मका ५१ उजुरीमध्ये २९ वटा उजुरीमात्रै फछ्र्याैट भएका छन् ।

फछ्र्यौट भएका उजुरी पनि अधिकांश प्रमाण नपुगेको भन्दै तामेलीमा जाने गरेका छन् भने प्रारम्भिक अनुसन्धानमा गएका उजुरीमा पनि दोषीलाई कारबाही हुँदैन । नेपालगन्ज रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोबद्र्धन सिंह सम्झना स्थानीय तहका उजुरीहरु फछ्र्यौटमा ढिलाइ हुँदा आसन्न निर्वाचनमा सम्भावित दोषीको नै पुनरावृत्ति हुन सक्ने बताउँछन् ।

‘यति थोरै मात्र उजुरीहरु फछ्र्यौट हुँदा त ती उजुरीमा दोषी आरोपितहरु साँच्चै दोषी रहेछन् भने त उनीहरुले कमाएको कालो धनले फेरि चुनाव लडेर दोहोरिने जोखिम हुन्छ । त्यसकारण ती मुद्दाहरुमा चाडो अनुसन्धान सक्नुपर्छ ।’

उपभोक्त अधिकारकर्मी अधिवक्ता वसन्त गौतम अख्तियार उजुरीमाथि कारबाही नगर्दा त्यसले जनतामा अख्तियारले पनि शक्तिमा हुनेलाई छुन सक्दैन भन्ने धारणा झन् बलियो बन्दै जाने बताउँछन् । उनी भन्छन्, ‘अख्तियारले परेका उजुरीमाथि कारबाही गरेर देखाउन सक्यो भने मात्रै जनतामा गल्ती गर्नेलाई सजाय हुन्छ भन्ने विश्वासको वृद्धि हुन जान्छ । नभए सैद्धान्तिकरुपले जति छलफल गरे पनि त्यसले परिणाम दिन सक्दैन ।’

अख्तियारको कार्यालयले बाँकेसहित बर्दिया, दाङ र रोल्पाका भ्रष्टाचारसम्बन्धी उजुरीहरु दर्ता गरी छानबिन गर्ने गर्छ । कार्यालयमा पर्ने उजुरीका मुख्य विषय बढी रकम भुक्तानी गरेको, न्यून गुणस्तरको संरचा निर्माण गरेको, सार्वजनिक खरिद ऐनको बर्खिलाप गरिएको, झुट्टा बिल भरपाई बनाएको, कर्मचारी अनियमितरुपले भर्ना गरेकोलगायतका रहेका अख्तियारले जनाएको छ ।

भ्रष्टाचार नियन्त्रणबारे अन्तक्रिया

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नेपालगन्ज्मा एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठको उपस्थितिमा जिल्लामा सबै सरकारी कार्यालय प्रमुख वा प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिबीच अन्तक्रिया गरिएको हो ।

कार्यक्रममा आयोगका उपसचिव भुवन पाण्डेले अख्तियार र भ्रष्टाचारबारे सैद्धान्तिक कार्यपत्र प्रस्तुत गरेका थिए भने अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख विजयराज पौडेलले कार्यालयको कार्यक्षेत्रमा भ्रष्टाचारको अवस्था र प्रवृत्तिबारे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै आयुक्त श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि घरबाटै संस्कारको विकास गर्नुपर्ने बताइन् । उनले अख्तियारले आफ्नो कामको गतिलाई तीव्र बनाउने प्रयास गरिरहेको बताइन् ।

सबैभन्दा बढी उजुरी कोहलपुरका

बाँकेका स्थानीय तहमा सबैभन्दा बढी उजुरी कोहलपुर नगरपालिकासँग सम्बन्धित छन् । गत वर्ष र चालु आर्थिक वर्षको फागुन २६ गतेसम्म कोहलपुर नगरपालिकासँग सम्बन्धित २८ वटा उजुरी परेका छन् । गत वर्ष १७ र यस वर्ष ११ वटा मुद्दा कोहलपुरका परेका छन् ।

दोस्रो नम्बरमा नेपालगन्ज उपमहानगरपालिका, तेस्रोमा राप्तीसोनारी गाउँपालिका, चौथोमा जानकी गाउँपालिका छन् । नेपालगन्जका २४, राप्तीसोनारीका २२ र जानकी गाउँपालिकाका नौवटा उजुरी अख्तियारमा परेका छन् । यसैगरि नरैनापुर र खजुराका आठ–आठ र डुडुवाका सातवटा उजुरी परेका छन् ।
मिसन टुडे न्युज

Nabintech