८ बैशाख २०८१, शनिबार
प्रकाश सपुतको गीतलाई लिएर कोही उत्तेजित हुनु पर्दैन : प्रचण्ड


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गायक प्रकाश सपुतको गीत ‘पीर’लाई लिएर कोहि उत्तजित हुनु नपर्ने बताएका छन्। धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले ‘पीर’ गीतलाई लिएर कोही उत्तेजित हुन आवश्यक नरहेको बताए। उनले गीतलाई एउटै ढंगबाट ब्याख्या गरिन नहुने बताए।

प्रचण्डले भने, ‘गीतकै कारण उत्तेजित हुन पर्दैन। पक्ष-विपक्ष हुन सक्छ। यसलाई सहज रुपमा हेर्नुपर्छ।’ उनले प्रकाश सपुत सिर्जनशील कलाकार रहेको तर गीतका लागि गहिरो विषय छनोट गरेको बताए। कलाकार र सर्जकहरुले आफ्नो दृष्टिकोणअनुसार विभिन्न रचना गर्ने भएकोले सपुतको गीतले एउटा विचारको प्रतिबिम्ब गरेको प्रचण्डको भनाई छ। उनले भने, ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन्। डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्‍यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ।’

उनले ‘जनयुद्ध’बाट शान्ति प्रकियामा आउनु हुने थियो कि थिएन भनेर पनि बहस भइरहने र यो धेरै वर्षसम्म जारी रहने बताए। उनले आफू कतार र मलेसिया जाँदा ‘जनयुद्ध’मा सामेल भएका लडाकुहरू दु:ख गरेको भेटेको समेत बताए। उनले भने, ‘म कतार मलेसिया जाँदा जनयुद्धमा रहेका लडाकुहरू दु:खपूर्ण जीवन बिताएको पाएँ। दु:ख पाएको भए पनि उहाँहरूले हामी विचलित छैनौं, आवश्यक परेमा फेरि त्याग गर्न तयार समेत रहेको बताउनुभएको थियो। ‘

तत्कालीन ‘जनयुद्ध’मा उत्पीडित वर्गले केही पाएको पनि उनले बताए। ‘जनयुद्धमा उत्पीडित वर्गले केही अधिकार पाएको भन्ने पक्ष पनि छ। कसैले यसबाट बर्बाद भइयो पनि भनेका छन्। त्यसबेला महिलाहरुमा वीरता र कीर्तिमानका पक्ष पनि छन्। राज्यबाट उनीहरूमाथि अत्याचार र दमन भएका पक्ष छन्। त्यसैले यस(गीत)मा उत्तेजित हुन कोही पर्दैन। यसमा पक्ष/विपक्ष हुन सक्छ।’

Nabintech