७ बैशाख २०८१, शुक्रबार
युक्रेन-रुस युद्ध: रुसी सेना किएभको भित्री भागतर्फ लम्किँदै गर्दा बाहिरी भागमा रुसी आक्रमण सघन बन्दै


युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर बीबीसी युक्रेनले स्थानीय अधिकारीलाई उल्लेख गर्दै लेखेको छ।

जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन्।

युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उनीहरूबीच शनिवार ७५ मिनेट लामो टेलिफोन वार्ता भएको सोल्जका प्रवक्ताले बताएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रुससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताएका छन्।

पत्रकार सम्मेलनमा उनले १,३०० युक्रेनी फौजको मृत्यु भएको जानकारी दिए। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसैबीच रुसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन्। राष्ट्रपति जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस “आतङ्कको नयाँ चरणमा” अघि बढेको आरोप लगाएका छन्।

राष्ट्रपति जेलेन्स्कीका पूर्व सल्लाहकार रहेका सबभन्दा कान्छा सांसद स्भियातोस्लाभ युराले किएभ शहरमा रुसी प्रतिरोध गर्ने तयारी भइरहेको बताएका छन्।

किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहेका उनले बीबीसी रेडियो फोरको टुडे कार्यक्रमसँग बोल्दै राजधानी किएभमा रातभर रुसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको बताए।

यदि रुसी फौज शहर भित्र छिर्‍यो भने ठूलो क्षति बेहोर्न रुस तयार रहनुपर्ने चेतावनी उनले दिए।

“यो दशौँ लाख मान्छे बस्ने शहर हो यदि उनीहरू भित्र छिरे भने उनीहरूले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ। त्यसो भयो भने त्यो उनीहरूको स्टालिनग्र्याड हुनेछ।” उनले दोस्रो विश्वयुद्धको त्यो क्षणबारे स्मरण गराउँदै थिए जसमा ११ लाख सोभियत सेना र ८ लाख जर्मन तथा रोमानियाको सेनाको मृत्यु भएको थियो।

त्यो १९४२-४३ मा भएको युद्धको त्यस्तो क्षण थियो जहाँबाट रुसतर्फ बढिरहेका नात्सीहरू रोकिनुपरेको थियो।

उनले भने, “म तपाईँलाई ग्यारेन्टी गर्न सक्छु कसैले पनि आत्मसमर्पण गर्ने छैन।”

उनले आफूले बालुवाका बोरा लगायतका सामग्री ल्याउन संयोजन गरिरहेको र आगामी युद्ध “प्रभावकारी रूपमा” गर्न विभिन्न सेनाका इकाईसँग कुराकानी गरिरहेको बताए।

युक्रेनी राजधानीमाथि रुसी अतिक्रमण गतिविधि चुलिइरहेकाले यो शहर चर्चाको शिखरमा छ।

गोलाबारीका कारण आगलागी

तस्बिर स्रोत,SES

यसैबीच युक्रेनले फेरि पनि रुसीहरूले दक्षिणी बन्दरगाह शहर मारिओपोलबाट मानिसहरूको उद्धार रोकेको आरोप लगाएको छ।

मानिसहरू कठ्याङ्ग्रिँदो चिसोमा बिजुलीबिना थोरै खाना र पानीको सहारामा रहेका बताइएको छ।

रुसले मानिसहरूलाई सुरक्षित युद्ध क्षेत्रबाट बाहिरिने निकास मार्ग युक्रेनले अस्वीकार गरेको आरोप लगाएको छ।

रुसी फौजकिएभदेखि २५ किलोमिटर वरपर

यूकेको रक्षा मन्त्रालयले रुसी फौज किएभको २५ किलोमिटर नजिक पुगेको जनाएको छ।

मन्त्रालयका अनुसार उत्तरतिर रहेका रुसी फौज तितर वितर भएका छन् “त्यो शहर घेराबन्दी गर्ने रुसी प्रयत्न हुन सक्छ।”

“अथवा आफ्नोतर्फ निकै क्षति बेहोरेको रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्छ।”

चेर्निहिब, खार्किभ, मारिओपोल र सुमी शहरमा पनि घेराबन्दी गरिएको र व्यापक गोलाबारी गरिएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ। विविसीबाट

Nabintech