१२ बैशाख २०८१, बुधबार
कोहलपुरमा लेनदेन नमिल्दा थुप्रियो फोहोर


फोहोर व्यवस्थापनका लागि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने संस्थालाई रकम उपलब्ध गराउने सम्झौतामा पत्रमा उल्लेख छ । तर उक्त सम्झौतामा नगरपालिकाले कसरी उपलब्ध गराउने भन्ने विषय स्पष्ट खुलाइएको छैन ।

कृष्ण ओली । कोहलपुर ।

कोहलपुर नगरपालिका र जटायु रिसाइकलर्स प्रालिबीच विवाद हुँदा फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । रकम भुक्तानीको विषयमा कुरा नमिल्दा बिहीबारबाट जटायु रिसाइकलर्सले कोहलपुरमा फोहोर उठाउन छोडिसकेको छ ।

कोहलपुर नगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै जटायुले बजार क्षेत्रबाट फोहोर उठाउन छोडेको छ । २०७७ असार २६ गते नगरको फोहोर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले जटायु रिसाइकलर्ससँग सम्झौता गरेको थियो । अहिले आएर नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा आफूहरु समस्यामा परेको जटायु रिसाइकलर्सका सञ्चालक नरेश बिसीले जनाए ।

पटकपटक कुराकानी गर्दासमेत रकम भुक्तानीलगायतका विषयमा सहमति हुन नसकेपछि फोहोर उठाउन नै रोक्नु परेको उनी बताउँछन् । ‘पहिले दुवै पक्षबीच भएको सहमति लागू गर्न नगरपालिकाले चासो नदेखाउँदा समस्या आएको हो,’ उनले भने, ‘पाउनुपर्ने रकमसमेत नपाउँदा बाध्य भएर फोहोर उठाउन रोकेका हौं ।’ ‘नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको हो,’ उनले भने, ‘सोही कारणले नै हामीले केही दिनदेखि फोहोर उठाउन रोकेका हौं ।’

फोहोर प्रशोधन गर्ने मेसिन खरिद गर्ने रकमको बारेमा सहमति हुन नसक्दा समस्या भएको नगरपालिका स्रोतले जनाएको छ । जटायु रिसाइकलर्सले सम्झौताअनुसार मेसिन खरिदको लागि करिब ४० लाख रुपैयाँ माग गरेको छ । नगरपालिकाले भने बैंकमा धरौटी राख्नुपर्ने वा टेण्डर खोले मात्र रकम दिने बताइएको छ ।

पटकपटक जटायु रिसाइकलर्स र कोहलपुर नगरपालिकाबीच छलफल हुँदासमेत सहमति हुन नसक्दा बजारमा फोहोर थुप्रिएको हो । ‘हामीले लाखौं रुपैयाँ जम्मा गरेका छौं । नगरपालिकाले सम्झौताअनुसार रकम दिन मान्दैन,’ जटायुका सञ्चालक बिसीले भने, ‘हामीले सम्झौताअनुसार नै रकम मागेका हौं । अहिले आएर बैंक ग्यारेण्टी राख्नुपर्ने बताइरहेको छ ।’

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने संस्थालाई रकम उपलब्ध गराउने सम्झौतामा पत्रमा उल्लेख छ । तर उक्त सम्झौतामा नगरपालिकाले कसरी उपलब्ध गराउने भन्ने विषय स्पष्ट खुलाइएको छैन ।

कोहलपुर नगरपालिकासँग भएको सम्झौताअनुसार जटायु रिसाइकलर्सले नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्ने गरेको छ । सम्झौता गरेका दुवै पक्षबीच नै विवाद भएपछि फोहोर सडकभरि हुँदा कोहलपुरमा दुर्गन्ध फैलिएको छ । ‘बजारमा जता हेरे पनि फोहोरमात्रै देखिन्छ,’ स्थानीय खिमानन्द खड्काले भने, ‘खै किन हो कोहलपुर नगरपालिकाले फोहोर उठाएन ।

हामीलाई थाहा भएन । दुर्गन्ध भने दिनदिनै बढिरहेको छ ।’ बजार क्षेत्रबाट उठाएको फोहोर जटायुले कोहलपुर नगरपालिका–९, मा किनेको खाली जग्गामा व्यवस्थापन गर्दै आएको थियो ।

जटायुले फोहोर संकलन गरेवापत मासिकरुपमा व्यवसायी तथा घरधनीबाट निश्चित रकम उठाउने गरेको छ । चार दिनदेखि फोहोर उठाउन कोही नआउँदा घरको फोहोर सडकमा थुप्रिएको बताइएको छ । कोहलपुरका न्यूरोड, चौराहा, बसपार्क, पीपल चौतारालगायतका मुख्य बजार क्षेत्रमा फोहोर थुप्रिएको छ ।

‘घाटा खाएर काम गर्दैनौं’

सहमति नहुँदासम्म कोहलपुरको फोहोर नउठ्ने जटायु रिसाइकलर्स प्रालिका पूर्व सञ्चालक समिति अध्यक्ष सतिस केसीले बताए । ‘नगरपालिकासँग हामीले छलफल त दैनिकजसो गरिरहेका छौं,’ उनले मिसन टुडेसँग भने, ‘कुनै सहमति नभएको हुँदा हामीले फोहोर उठाउने कुरा भएन ।’

सोमबारसमेत छलफलका लागि नगरपालिकाले बोलाएको भन्दै उनले विभिन्न विकल्पका बारेमा समेत कुराकानी हुने बताए । दुई हजार पाँच सय जति मात्रै शुल्क तिर्ने ग्राहकहरु रहेको भन्दै अब घाटा खाएर फोहोर व्यवस्थापन गर्न नसकिने जटायुले जनाएको छ ।

‘फोहोर सधैं नउठाउने भन्ने कुरो पनि भएन,’ केसीले भने, ‘लिखितरुपमा केही न केही सम्झौता भएमात्र हामी फोहोर उठाउँछौं ।’

‘अस्पष्ट सम्झौताले समस्या

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले यसअघि नै गरिएको सम्झौता स्पष्ट नहुँदा समस्या भएको बताउँछन् । सम्झौतामा रकम दिने कुरा उल्लेख भए पनि कुन प्रक्रियाले दिने भन्नेबारे केही नखुलेकोले समस्या भएको उनले बताए ।

‘उहाँहरुसँग पनि हामीले छलफल गरेका छौं । केही निकास त पक्कै निकाल्नुपर्ला,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘दुवै पक्षको आपसी सहमतिमै पहिलेको सम्झौतालाई समेत सच्याउनुपर्छ की भन्ने लागिरहेको छ ।’

दुवै पक्षलाई मर्का नपर्ने गरी सहमति तथा सम्झौता गर्नुपर्ने उनी बताउँछन् । ‘काम अगाडि बढिसकेको बेला सम्झौता रद्द गर्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘उहाँहरु समेत प्रक्रिया पु¥याएर आउनुपर्छ । केही समस्या भए नगरपालिका बसेर समस्याको हल गर्न तयार छ ।’ मेसिन खरिदको लागि कसरी भुक्तानी दिने भन्नेबारे सम्झौतामा केही उल्लेख नभएकोले केही समस्या आएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

‘म आउनुभन्दा पहिले नै भएको सम्झौतामा केही कुराहरु छुटेकोले समस्या आएको हो,’ उनले भने, ‘आगामी वर्षहरुमा समेत समस्या आउन नदिनको लागि दुवै पक्षबीच नयाँ सम्झौता हुनुपर्छ । त्यसो भए दुवै पक्षलाई काम गर्न सजिलो पनि हुन्छ ।’

(मिसनटुडेबाट सभार गरिएको हो )

Nabintech