७ बैशाख २०८१, शुक्रबार
एमसीसीबारे नेपाललाई अमेरिकाले पत्र पठायो


काठमाडौ/अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ। संसद बैठक बस्नु पाँच दिनअघि एमसीसीको मुख्यालयले पत्र लेखेर फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो। यदि संसद्‌बाट अनुमोदन नभए नेपालसँगको एमसीसी सम्झौता रद्द गर्ने निर्णय लिने जानकारी गराएको छ।
फेब्रुअरी ३ मा एमसीसी मुख्यालयले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएको छ। पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न आग्रह गरेको छ। एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेको छ।
‘तपाईँहरुले सेप्टेम्बर २९ मा एमसीसी पास गर्ने समय थप गरिदिन लिखित पत्र पठाउनु भएको थियो, त्यसमा सकरात्मक हुँदै हामीले म्याद दिएका हौं, अब गठबन्धन दल र संसदलाई समयसीमा भित्रनै एमसीसी पारित गर्न आमी आग्रह गर्दछौं,’ पत्रमा उल्लेख छ। नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला एमसीसीको मुख्यालयले पत्र लेखेर सत्ता गठबन्धनका दलहरूलाई यस्तो पत्र पठाएको हो।
माघ २६ गते संसदको बैठक बस्ने कार्यतालिका छ। उक्त बैठक बस्नु ५ दिनअघि २१ माघमा एमसीसी मुख्यालयबाट पत्र आएको छ। सत्ता गठबन्धनका रहेका दलहरूबीच एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति नजुट्दा माघ १६ गतेको संसद बैठक माघ २६ गतेका लागि सारिएको छ। सत्ता गठबन्धनमा रहेका दलहरूबीच सहमति नजुटेकाले माघ २६ गते पनि एमसीसी संसदमा टेबुल हुने सम्भावना कम भएपछि मुख्यालयबाट पत्र आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Nabintech