७ बैशाख २०८१, शुक्रबार
वर्षाले इँटा उद्योगमा करोडकौको क्षति


नेपालगञ्ज, माघ २२ गते / केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशतभन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ ।
नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताए । जसकाकारण करिब २० करोड रुपियाँको क्षति भएको छ ।
एउटै व्यवसायीले पकाउन राखिएका ५ लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको जनाउँदै अहिले इँटा पकाउने सिजन भएकाले भट्टामा बलेको आगो समेत निभिसकेकाले फेरि जलाउनु परेमा क्षति अझै बढेर जाने बताए। व्यवसायीकाअनुसार खुला चौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश इँटा र भट्टाभित्र आगोमा राखिएका इँटा समेत नष्ट भएका छन् ।
कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको नेपाल ईट्टा उद्योग व्यवसायी संघका पुर्व अध्यक्ष प्रकाश शाहले बताए । बर्षाका कारण आफ्नो मात्रै करिब २५ लाख रुपियाँको इँटा गलेर नष्ट भएको उनले बताए । सोही अवस्था जिल्लाभरीकै व्यवसायीको रहेको उनको भनाई छ ।
यो बर्षाले प्रत्येक इँटा व्यवसायीको ठूलो क्षती भएको जनाउँदै चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यो क्षतिका कारण इँटा उत्पादन घट्ने र मूल्य बढ्ने बताए । इँटा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म इँटा उत्पादन गर्नेगरेका छन् । “एक पटकमा छ देखि दश लाखसम्म इँटा तयार पारिन्छ, तर यस पटक शुरुमै क्षति भएको छ” –नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेका सचिव पौडेलले भने ।
इँटा व्यवसायीले बर्सेनी बर्षाको समयमा ठूलो नोक्सानी व्यहोर्नु पर्ने कारण विमा गर्न नपाउनु रहेको नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकले जनाएको छ । अहिले भएको क्षतिका कारण यस बर्ष पनि गएको बर्षझै बाँकेमा इँटा उत्पादन कम हुने संघले जनाएको छ ।

गोरखापत्र अनलाइनबाट

Nabintech