११ बैशाख २०८१, मंगलवार
प्रेस सेन्टरको स्थापना दिवसका अवसरमा नेपालगञ्जमा मास्क वितरण


नेपालगञ्ज/प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरेर बाँकेमा पनि भव्य रुपमा मनाईंदैछ । सो क्रममा बाँकेको नेपालगञ्ज र कोहलपुरमा दुई वटा औपचारिक कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय प्रेस सेन्टर बाँकेले गरेको छ ।
प्रेस सेन्टर बाँकेले शुक्रवार गरेको निर्णय अनुसार शनिवार स्थापना दिवसका दिन नेपालगञ्जको धम्बोझी चोकमा १ हजार दुई सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको छ भने त्यहाँ रहनु भएका १० जना सुरक्षाकर्मीलाई फेसशिल्ड वितरण गरिएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपनि स्वास्थ्य मापदण्डको पालनामा अझैपनि बेवास्ता गरिएको पाईएकोले मास्क लगाउने आग्रह गर्दै मास्क नलगाएका १ हजार २ सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्ष्यतामा गरिएको मास्क वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरका अध्यक्ष रतन बहादुर शाही हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु सिराज खान र सुशिल लामिछाने तथा प्रदेश सचिवहरु गजेन्द्र गुरुंग र आलम खान तथा नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरका कोषाध्यक्ष कस्मिरा खातुन रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथि लगायत प्रेस सेन्टर बाँकेका सदस्यहरु तथा धम्बोझी चोकमा रहनु भएका नेपाल प्रहरी र। सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले पनि सो चोकमा विभिन्न सवारी साधनमा आवागमन गर्ने १ हजार २ सय जनालाई मास्क वितरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरका अध्यक्ष रतन बहादुर शाहीले जनताको पत्रकारिता गर्ने पत्रकारहरुको संगठन प्रेस सेन्टरको स्थापना दिवसले जनपक्षीय पत्रकारहरुमा जनताका समस्या र पिडा बाहिर ल्याउन झन उत्साह थप्ने बताउनुभयो । उहाँले परिवर्तनलाई संस्थागत गर्दै अग्रगमनका लागि पत्रकारिता गर्न पत्रकारहरुसंग आग्रह पनि गर्नुभयो ।
सो अवसरमा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, प्रेस सेन्टरका केन्द्रिय सदस्य सुशिल लामिछाने लगायतले पनि स्थापना दिवसको शुभकामना दिनुभएको थियो । वितरण गरिएको मास्क मध्ये एक हजार थान मास्क र १० वटा फेस शिल्ड हिन्दु स्वयं सेवक संघ नेपालगञ्जले सहयोग गरेको थियो भने दुई सय थान मास्क मेडिकल कलेजको नेपालगञज शिक्षण अस्पताल नजिक रहेको सौर्य सुमन मेडिकल हलले उपलब्ध गराएको थियो ।
स्थापना दिवसकै अवसरमा कोहलपुरमा केही बेरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने प्रेस सेन्टर बाँकेले जनाएको छ । स्थापना दिवसकै अवसरमा सेन्टरका बाँके अध्यक्ष धिताल र सचिव संगिन शर्माको हस्ताक्षरमा शनिवार विहान एक शुभकामना विज्ञप्ती पनि प्रकाशित गरिएको थियो ।

Nabintech