७ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा : कहाँ–कहाँ छन् मतदान स्थल ?


काठमाडौं/राष्ट्रिय सभाको भोलि हुने मतदानको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा रहेका छन्। बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए। मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो। सात प्रदेशका आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत् मतदान गराइनेछ। जसअनुसार प्रदेश १ मा दुई र अरु प्रदेशमा एकरएक वटा मतदान स्थल छन्।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर तथा प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ। लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

फागुन २० बाट नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार मतदान हुन लागेको हो। मतदानमार्फत् ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य समूह गरी १९ जना चुनिने छन्।

निर्वाचनमा स्थानीय तहका १४ सय ९३ र प्रदेश सभाका ५ सय ३२ जना गरी २ हजार २५ जना मतदाता छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

Nabintech