१९ असार २०७९, आईतवार
बाँकेमा १८ बर्षीया किशोरीको अपहरणपछि बलात्कार, दुई युवा पक्राउ


नेपालगञ्ज / बाँकेमा १८ बर्षीया किशोरीको अपहरणपछि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने किशोरीको अपहरणपछि बलात्कार भएको हो ।

किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पाँच जनाको संख्यामा आएका युवाहरुले किशोरीका केटा साथीहरुलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए । एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

अर्को एक जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न अन्य युवाहरुको खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
बागेश्वरी पोष्ट

Nabintech